"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

भारतमा आएको चक्रवातको असर नेपालमा

भारतमा आएको चक्रवातको असर नेपालको मध्य तथा पूर्वी क्षेत्रमा पनि पर्न थालेको छ । बुधबारदेखि पूर्वी क्षेत्रमा हावाहुरी चल्न थालेको छ । भोलि जेठ १३ गते बिहिबारदेखि जेठ १५ गते शनिबारसम्ममा देशमा धेरैजसो भागमा पानी पर्ने सम्भावना देखिएको छ ।

पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात (Very Severe Cyclonic Storm) यास् (YAAS) समुद्रबाट जमिन तर्फ प्रवेश गरिसकेको छ र उक्त चक्रवात उत्तर-उत्तरपश्चिम सर्ने क्रममा छ।

त्यसले केही दिन नेपालको मौसममा असर पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध छ । जल तथा मौसम विज्ञान विभागका अनुसार २०७८ जेठ १३, १४ र १५ गते प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बाग्मती र लुम्बिनी प्रदेशको तराईमा अति भारी वर्षा, चट्याङ पर्ने र उच्च बेगको हावाहुरी आउने सम्भावना छ। कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना देखिन्छ । गण्डकी, बागमती र प्रदेश १ का हिमाली/ उच्च पहाडी भूभागका केहि स्थानमा हल्का देखि मध्यम हिमपात/वर्षा हुनसक्छ ।

यसै सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारतमा आएको चक्रवातको असर नेपालमा कस्तो पर्ने आँकलन गरेको छ र त्यसका लागि कस्तो तयारी गरेको छ भन्नेबारे रातोपाटीले प्राधिकरणका उपसचिव एवं प्रवक्ता लीलाधर अधिकारीसँग संक्षिप्त कुराकानी गरेको छ ।

प्रस्तुत छ, अधिकारीसँगको कुराकानीको सम्पादित अंश–

वर्षाको मौसम सुरु हुँदैछ, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा कस्तो तयारी भएको छ ?

– हामीले सबै जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेका छौं । केन्द्रमा पनि विभिन्न निकायसँग समन्वय गरिरहेका छौं । पूर्वतयारी र प्रतिकार्य योजना अध्यावधिक भएको छ । विपद्को बेलामा को कसरी परिचालित हुने भन्नेबारे पनि लेखाजोखासहित तयारी भएको छ । त्यही अनुसार जिल्लाहरुमा निर्देशन दिएका छौं ।

बाढीको पूर्वसूचना प्रणाली यो वर्ष थप ठाउँमा विस्तार भएको छ । यो प्रणालीले बाढीबाट हुने क्षति न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यस्तै, सञ्चारमाध्यमलाई प्रयोग गरेर जनतामा जोखिमबारे पूर्वसूचना प्रवाह गर्ने, यसका लागि स्थानीय भाषामा प्राकृतिक विपद्सम्बन्धी सूचना बनाएर प्रकाशन, प्रशारणको काम पनि प्राधिकरणले गरेको छ ।

विपद् व्यवस्थापनमा स्थानीय निकायको भूमिका पनि निकै महत्त्वपूर्ण हुने गर्छ । प्राधिकरणले स्थानीय तहहरुमा विपद् पूर्वतयारी र प्रतिकार्य योजना बनाउन सहयोग गरिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु पनि यसमा परिचालन भइरहेका छन् ।

जिल्लाहरुसँग समन्वय गरेको त भन्नुभयो, कोरोना संक्रमणको समयमा बाढी, पहिरो, डुबानजस्ता विपद् प्रतिकार्य योजनामा काम गर्नु कति सहज होला ?

– कोभिडको दोस्रो लहरले खोज, उद्धार र राहत वितरणको काममा चुनौती त थपेको छ नै, तर कोभिडको समयमा कसरी काम गर्ने भनेर हामीले कृत्रिम घटना अभ्यासमा पूर्वतयारी गरेका छौं ।

कोभिडको वातावरणमा स्वास्थ्य मापदण्ड पालना गर्ने, आफू पनि सुरक्षित भएर अरुलाई सुरक्षित तुल्याउन के कसरी काम गर्ने भन्नेबारे स्थानीय तहलाई सचेतना अभिवृद्धिका काम पनि गरिरहेका छौं ।

खुला स्थानहरु पहिचान गरिएका छन् । कोभिडको जोखिमकाबीच खुला स्थानमा जथाभावी मान्छे जम्मा गरेरमात्र भएन, उद्धार गरिएका मानिसलाई विद्यालय भवन वा कुनै सामुदायिक भवनमा राख्नुपर्ने अवस्था हुन सक्छ ।
त्यो अवस्थामा स्वास्थ्यको मापदण्ड पालना गर्ने तथा खोज, उद्धार तथा राहत वितरणकर्ता आफैं पनि संक्रमणबाट बच्नुप¥यो र उहाँहरुले पनि प्रोटोकल पालना गर्नुप¥यो । विपद् प्रभावितले पनि त्यसरी नै प्रोटोकल पालना गर्नुपर्ने हुन्छ ।

​भारतमा लगातारजस्तै दुईवटा चक्रवात आयो, पहिलो चक्रवातको असर नेपालमा त्यति नदेखिए पनि दोस्रोको असर देखिन थालेको छ, नेपालको सन्दर्भमा यसको असर कति घातक बन्न सक्छ ?

भारतमा केही दिनअघि आएको आँधीको तुलनामा अहिलेको चक्रवातले नेपालमा धेरै प्रभाव पार्न सक्ने भनेर जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरिसकेको छ । त्यसको आधारमा हामीले पनि हाम्रा संयन्त्रलाई सचेतता अपनाएर तयारी अवस्थामा रहन निर्देशन दिइसकेका छौं ।

आँधी रोक्न सकिने त होइन तर मानिसलाई सचेत तुल्याउने, सम्भावित जोखिम क्षेत्रमा पूर्वतयारी गर्ने र खोज, उद्धार तथा राहतका लागि चनाखो भएर बस्न हाम्रा सबै संयन्त्रलाई निर्देशन दिइएको छ ।

देशको पूर्वी भागमा बुधबारदेखि आँधी चलेको छ, भारतमा आएकै चक्रवातको असर हो त्यो ?

– हो, भारतमा आएको चक्रवातले नेपालको पश्चिमी क्षेत्रमा खासै असर नगर्ने तर मध्य तथा पूर्वी भागमा त्यसको असर देखिने भनेर मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरिसकेको थियो ।

पूर्वी भेगमा बुधबारदेखि नै त्यसको असर देखिएको भन्ने छ । यसको प्रभाव अस्वाभाविक रुपमा पर्न सक्ने भनेर पहिला नै आँकलन भइसकेको हो । त्यसैले पर्वतारोहणमा गएका टोलीलाई पनि फर्कन वा सुरक्षित रहन सावधान तुल्याइसकेको अवस्था छ । जिल्लाजिल्लामा रहेका विपद् प्रतिकार्य समूहलाई तयारी अवस्थामा रहन भनिएको छ । सर्वसाधारणलाई पनि नदी तटीय क्षेत्रमा नजान, नबस्न तथा बाढी, पहिरोको सम्भावित जोखिम क्षेत्रमा रहेका बस्तीमा सावधानी अनपाउन भनेर सूचित गरिसकेको अवस्था छ ।

यो आँधीको असर तीन दिनसम्म देखिने भनिएको छ, त्यसैले हामी यसमा पूर्वतयारीका साथ सतर्क भएर बसेका छौं ।

कस्तो पूर्वतयारी ?

– जोखिमका सम्भावित क्षेत्रमा सबैलाई सचेत तुल्याउने, खोज उद्धार र राहतका राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई अलर्ट राख्ने काम भएको छ । त्यस्तै, पहाडमा भू–क्षय र पहिरो एवं तराईमा बाढी आउन सक्ने सम्भावना दृष्टिगत गरी हरेक जिल्लामा सुरक्षा निकाय, विपद् व्यवस्थापनमा संलग्न सरकारी एवं गैरसरकारी निकास र विषयगत क्षेत्रलाई उच्च सतर्क अवस्थामा राख्न सूचित गरिएको छ ।

कुन क्षेत्र बढी प्रभावित हुने आँकलनका साथ पूर्वतयारी गरिएको छ ?

– सुदूरपश्चिममा यसले खास असर गर्दैन भन्ने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १३, १४ र १५ गते प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा भारी वर्षाको सम्भावना छ । त्यसैले ती क्षेत्रमा बाढी तथा डुबान हुन सक्ने आँकलनका साथ पूर्व तयारीमा ध्यान दिन विभिन्न संयन्त्रलाई सूचित गरिएको छ ।

मनसुनको सिजन पनि हुन लाग्यो, अब प्राकृतिक विपद् तथा प्रकोप बढ्ने समय आउँदैछ । यसका विरुद्ध पूर्वतयारी कस्ता छन् ?

विपद् बाजा बजाएर आउने होइन भनिन्छ । त्यसैले पनि विपद्का लागि हामी हमेसा पूर्वतयारीका साथ बस्नुपर्छ ।

अहिले विकसित विभिन्न प्रविधि र वैज्ञानिकहरुको अध्ययन अनुसन्धानका आधारमा कतिपय कुराहरु हामी आँकलन गर्न सक्छौं । जस्तोकि, हालैमात्र भारतमा दुईवटा शक्तिशाली आँधी आए । भारतले आफ्नो संयन्त्रबाट त्यस्ता विपद् आउनु अघि नै त्यसबाट प्रभावित हुने क्षेत्रको आँकलन गरिसकेको थियो । त्यसको आधारमा हामीले पनि सम्भावित जोखिमबारे प्रक्षेपण गर्छौं ।

भारतमा केही दिनअघि आएको आँधीको तुलनामा अहिले आइरहेको आँधीले नेपालको केही भागलाई पनि प्रभावित पार्न सक्छ भनेर पूर्वानुमान भएकै हो । सोहीअनुसार अहिले नेपालको मध्य तथा पूर्वी भागमा हुरी चलेको छ ।

हामीले मौसम विज्ञान विभागले दिएको सूचनालाई विश्लेषण गरेर नै कुन ठाउँमा हावाहुरीको जोखिम छ, कता बाढीपहिरोको जोखिम हुन्छ भन्ने आँकलन गर्दछौं र सम्बन्धित क्षेत्रमा आफ्ना संयन्त्रलाई सचेत तुल्याउने हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोध
१. बस्ती नजिक बाढी, पहिरो, डुबान जोखिम आंकलन गरी सुरक्षाकर्मी एवम् पालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्ने ।
२. नदी, खोला किनार एवम् पहिरो आसपास बसोबास गर्ने बासिन्दा सतर्क अवस्थामा रहनुपर्नेबारे सञ्चार माध्यममार्फत सचेत गराउने ।
३. आफ्नो आसपासको ठाउँमा बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिए सुरक्षा निकाय, पालिका एवम् जिल्ला विपद् व्यवस्थापन समितिलाई तुरुन्त खबर गर्ने ।
४. पहाडमा भू-क्षय र पहिरो एवम् तराईमा बाढी आउन सक्ने सम्भावना दृष्टिगत गरी हरेक जिल्लामा सुरक्षा निकाय, विपद् व्यवस्थापनमा संलग्न सरकारी एवम् गैरसरकारी निकाय र विषयगत क्षेत्रलाई उच्च सतर्क अवस्थामा राख्ने ।
५. सम्भावित वर्षा एवम् बाढीबारे थाहा पाउन जल तथा मौसम विज्ञान विभागको टोल फ्री (पैसा नलाग्ने) नम्बर ११५५ मा फोन गर्ने ।
६. तत्काल खोज, उद्धार र राहतको लागि राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन केन्द्रको टोल फ्री नम्बर ११४९ मा फोन गर्ने ।
७. विपद्को समयमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिकाको विशेष ध्यान दिने ।
८. पर्वतारोहणका लागि हिमालतिर गएको टोलीलाई तुरुन्त फिर्ता बोलाउने ।

२०७८ जेठ १३ गते बिहीवार १२:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु