"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

नेपाल- भारत पारवहन सन्धिमा जलमार्ग थप्ने सहमति

काठमाडौं । नेपाल र भारतले दुई देशबीचको पारवहन सन्धिमा जलमार्ग थप्ने सहमति गरेका छन्।

भारतको नयाँ दिल्लीमा चैत ४ र ५ गते भएको दुई देशका वाणिज्य मन्त्रालयका अधिकारीको बैठकमा नेपाली पक्षले सन्धिमा जलमार्ग थप्ने प्रस्ताव गरेको थियो।

बैठकमा सहभागी वाणिज्य मन्त्रालयका एक अधिकारीले जलमार्गसँगै थप दुइटा बन्दरगाह प्रयोग गर्न, भैरहवा र विराटनगर नाकामा पनि कार्गो बल्क आउन दिन नेपालले भारतसामू प्रस्ताव गरेको बताए।

‘उहाँहरू यी तिनै कुरैमा सहमत हुनुभएको छ,’ ती अधिकारीले भने, ‘नेपालले पनि पानीजहाज चलाउने पक्रिया सुरू गरेकाले यो सहमति एउटा महत्वपूर्ण खुट्किलो हो।’

उनका अनुसार भारत उडिसाको धमिरा र गुजरातको कण्डला बन्दरगाह नेपाललाई प्रयोग गर्न दिन र तेस्रो मुलुकबाट नेपाल आउने बल्क कार्गोको प्रवेश बिन्दुका रूपमा विराटनगर र भैरहवालाई समेत मान्यता दिन सहमत भएको छ। अहिले तेस्रो मुलुकबाट आउने बल्क कार्गो वीरगन्ज–रक्सौल नाकामा मात्रै आउने गरेको छन्।

पारवहन सन्धीमा जलमार्ग पनि समावेश भएपछि भारतले गंगालगायत नदीमा बनाइरहेको जलमार्ग नेपालले पनि प्रयोग गर्न पाउनेछ।

यसअघि काठमाडौंमा भएको दरई देशका अधिकारीहरूको बैठकले गंगा नदीका साहेबगन्ज र कालुघाट टर्मिनल नेपालले प्रयोग गर्नेबारे सहमति गरेको थियो। नेपालले हल्दिया बन्दरगाहमा आउने सामान साहेबगन्ज टर्मिनल प्रयोग गरेर विराटनगरमा ओसारपसार गर्न सक्छ भने वीरगन्जका लागि कालुघाट टर्मिनल प्रयोग गर्न सक्छ।

सन् १९९९ मा नेपाल र भारतबीच द्विदेशीय पारवहन सन्धि भएको थियो। वाणिज्य मन्त्रालयका अधिकारीहरूले अहिले गरेको सहमतिलाई दुबै देशका मन्त्रिपरिषदबाट स्वीकृति भएपछि सन्धीकै अंग बनेर लागु हुनेछ।

२०७५ चैत ७ गते बिहीवार १३:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु