"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

चाडबाडको मौका छोप्दै व्यवसायी, उपभोक्ताको भान्सा महंगियो,खाने तेलको मूल्य छोइनसक्नु, तरकारी र फलफूलमा शतप्रतिशतसम्म वृद्धि

काठमाडौ । चाडबाड नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य दिनहुँजसो उकालो लागिरहेको छ । चाडबाडमा माग बढ्ने भएपछि मौका छोपेर व्यवसायीले मूल्य वृद्धि गरेका छन् ।

२०७७ असोजमा २७५ रुपैयाँ मूल्य रहेको भुटेको तोरीको तेलको अहिले लिटरमै ३४० देखि ३६० रुपैयाँ पुगेको छ । काँचो तोरीको तेल पनि प्रतिलिटर १८०–२८० बाट बढेर ३६० रुपैयाँसम्म पुगेको छ । भटमास तेलको मूल्य प्रतिलिटर १५५ बाट बढेर २४० पुगेको छ । सनफ्लावर तेल प्रतिलिटर १६५–१८० बाट बढेर २५० र डाल्डा घिउ १४५ बाट २३० रुपैयाँ पुगेको छ ।

गेडागुडी, चामल, चिउरा लगायतको मूल्य पनि अचाक्ली बढेको छ । चामलमा पनि नयाँ धान नआउन्जेल मूल्य बढ्ने भएको छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अनुसार ‘चाडबाडमा उपभोक्तालाई सहुलियत उपलब्ध गराउनुपर्नेमा मूल्य बढाएर ठगी गरिएको छ । यसलाई तत्काल नियन्त्रण गर्नुपर्छ ।’ मूल्य अकासिएकाले सरकारले तत्काल प्रभावकारी अनुगमन गर्नुपर्ने उपभोक्ताकर्मीहरुको सुझाव छ ।

चिनीको मूल्य पनि बढेर प्रतिकिलो ९५ रुपैयाँ पुगेको खुद्रा व्यापार संघको तथ्यांक छ । एक वर्षमा हरियो केराउमा प्रतिकिलो २० रुपैयाँ बढेर किलोको १४० पुगेको छ । सानो केराउ १६०, राजमा, रहर दाल, मुसुरो दाललगायतको मूल्य पनि किलोमै २० रुपैयाँसम्म वृद्धि भएको छ । पछिल्लो लकडाउन र अहिलेकै बजार तुलना गर्दा ५ देखि १० प्रतिशत मूल्यवृद्धि भएको उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेश उपाध्यक्ष दुर्गाराज श्रेष्ठ बताउँछन् । चामलको मूल्य बोरामा ५०र६० रुपैयाँ बढेको छ । ‘चाडपर्व नजिकिएपछि माग बढ्दो छ तर सहज तरिकाले आपूर्ति गर्न सकिएको छैन, ढुवानीको समय नमिल्दा पनि महँगो भएको छ,’ नेपाल वितरक संघका निवर्तमान अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘खाद्यान्न बोकेका सवारी बिहान ११ देखि दिउँसो ३ बजेसम्म मात्रै चल्न पाउँछन् । यसले गर्दा पनि ढुवानी भाडा पनि बढेको हो ।’

बजार सुधार्ने काममा आधा दर्जन नियामक छन् तर उपभोक्ताले सुधारको अनुभूति गर्न सकेका छैनन् । खाद्यवस्तुको गुणस्तरसम्बन्धी नियमन गर्ने दायित्व खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हो । मूल्यसूची अनुगमन र म्याद नाघेको विषय हेर्ने काम वाणिज्य विभागले गर्छ । नापतौल तथा ढक तराजुको विषय गुणस्तर तथा नापतौल विभागले हेर्नुपर्छ । संघीय सरचनासँगै पालिकालाई बजार अनुगमनको अधिकार छ तर पालिकाहरूले प्रभावकारी अनुगमन गर्ने गरेका छैनन् । यी विविध कारणले पनि बजारमा सुधार नदेखिएको सरोकारवालाको भनाइ छ ।

पछिल्लो १० दिनमा हरियो तरकारी र फलफूलको मूल्य छोइनसक्नुभएको छ । होलसेल बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ ।

२०७८ असोज १२ गते मंगलवार १३:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु