"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

आयोडीन युक्त नून कमिशन र नाफाखोरीको हातमा दिनखोजेको : विपक्षीको आरोप

काठमाडौं- आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरलाई घुसाएको भन्दै विपक्षी गठबन्धनले सरकारको चर्को आलोचना गरेका छन् । पाँच राजनीतिक दल कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेको तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेलले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी बजेटमार्फत् गरिएको उक्त घोषणा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट भएको जिकिर गरेको हुन ।

विपक्षी गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सरकारले हालै सार्वजनिक गरेको बजेट भाषण मार्फत सबै तह र क्षेत्रका जनताले उपभोग गर्ने आयोडिनयुक्त नुनमा अनुदान दिई आपुर्ती गरिरहेकोमा हालै सरकारले बजेट मार्फत कसैलाई फाईदा पुर्याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट निर्णय गरेको छ ।’

साथै, गठबन्धनले सो निर्णय जनताको थाप्लोमा बोझ हाल्ने षडयन्त्र भएको ठोकुवा गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन जोडदार माग समेत गरेको छ । ‘यस्तो निर्णयबाट जनताले सुलभ रुपमा पाइरहेको आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरलाई घुसाएर त्यसको बोझ जनताको थाप्लोमा हाल्ने षडयन्त्र गरेको प्रति विरोध र निन्दा गर्दै यस्तो निर्णय तत्काल फिर्ता लिन हामी जोडदार माग गर्दछौ’ गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै गठबन्धनले ढुंगा, गिट्टी र बालुवा निकासी गर्न चुरे क्षेत्र लगायतको उत्खनन् गर्ने घोषणा राष्ट्रघाती र जनघाती रहेकाले खारेज गर्न माग गरेका छन् भने प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहँदा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गरी संवैधानिक तथा लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको बताएका छन् ।

२०७८ जेठ २४ गते सोमवार १०:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु