"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

कोरोना कहरः विपन्नलाई खाना खुवाउँदै नगरपालिका

बागलुङ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) कारण बागलुङ जिल्ला सदरमुकाममा बसोबास गर्ने विपन्न तथा मजदूरहरुलाई आजदेखि दिवा खाना खुवाउन शुरु गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सरकारले मङ्गलबारदेखि लक डाउन गर्दा रोजीरोटी गुमेका विपन्न परिवारलाई दिवा खाना खुवाउन थालिएको नगरपालिकाले जनाएको छ । बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा बानपा–४ कुडुँले स्थित शालिग्राम सङ्ग्रहालय तथा तिरुपति बालाजीधाम मुक्तिनाथ वेद विद्याश्रमको संयोजनमा धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा खाना खुवाउन थालिएको हो ।

जिल्ला सदरमुकाममा बसेर ज्याला मजदूरी गर्ने श्रमिक, गरिब, विपन्नका लागि सञ्चालन गरिएको मेसबाट पहिलो दिन ६८ जनालाई खुवाइएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए। नगरपालिकाका अनुसार बजारमा सञ्चालित मानव सेवा आश्रमका ४० जना, अन्य इट्टा तथा उद्योगमा कार्यरत मजदूरलाई समेत खाना पठाइएको छ ।

मेस सञ्चालनका लागि नगरपालिकाले खाद्य सामग्रीको जोहो गरिदिएको छ भने मुक्तिनाथ वेद विद्याश्रमले खाना तयार गरेर वितरणको प्रवन्ध मिलाएको छ । भीडभाड नगरी खाना खुवाउने व्यवस्था गरिएको छ ।

मुलुकभरी भएको लक डाउनका कारण रोजीरोटी गुमेर विहानबेलुका हातमुख जोर्न समस्या भएकालाई दिवा खाना खुवाइएको नगरप्रमुख पौडेलको भनाइ छ । नगरपालिकाले लक डाउनका कारण मजदूरी गर्न नपाएर हातमुख जोर्न समस्या भएकालाई राहत उपलव्ध गराउनका लागि वडास्तरबाट लगत सङ्कलनको काम समेत अघि बढाएको छ । नगरपालिकाले कोरोना भाइरसको रोकथामका लागि १५ लाखको राहत कोषसहित नगर क्षेत्रमा कोरोना रोकथामका लागि किटनाशक औषधि छर्ने कार्य समेत गरिरहेको छ ।

२०७६ चैत १६ गते आइतवार ११:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु