"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

अनलाइनबाट १२७ क्विन्टल चामल बिक्री, पुनः तेस्रो बोलपत्र आह्वान

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले घिउलगायत अनलाइनमार्फत बिक्रीवितरण गर्दै आएको छ । लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत चैत २६ गतेदेखि अनलाइनमार्फत होम हेलिभरी सेवा प्रदान गर्दै आएको छ ।

होम डेलिभरीमार्फत चामल, कर्णालीको सिमी र दाल बिक्रीवितरण गरिँदै आएकामा उपभोक्ताको मागअनुसार गत आइतबारदेखि दुग्ध विकास संस्थान ९डिडिसी० को घिउसमेत बिक्री गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा आधा किलोको घिउ डिडिसीको मूल्यमा नै बिक्री गरिएको छ ।

कम्पनीले हाल रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल, कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्रीवितरण गरेको छ । गत चैत अन्तिम सातादेखि वैशाख मसान्तसम्म अनलाइनमार्फत १२७ क्विन्टल चामल, आठ क्विन्टल सिमी, ११५ किलो दाल र ३० किलो केराउ गरी रु सात लाख ९५ हजार २५७ बराबरको खाद्य पदार्थ बिक्री गरिएको उहाँले जानकारी दिनुभयो ।

कम्पनीले दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थको अनलाइन बिक्रीवितरण गर्दै आएको छ । काठमाडौँ उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिव्यक्ति रु दुई हजारदेखि रु पाँच हजारसम्मको खरीदमा १० प्रतिशत छुट दिइँदै आएको छ । अनलाइनमार्फत अर्डर गर्न नेपाल बैंक लिमिटेड र सेन्चुरी बैंकको खल्ती वा इ–सेवामार्फत ‘इ–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था गरिएको छ । कम्पनीले पहिलो चरणमा चक्रपथभित्र मात्र सेवा प्रदान गरे तापनि क्रमशः काठमाडौँ उपत्यकाका सबै ठाउँमा सेवा विस्तार गर्ने तयारी गरेको जनाइएको छ ।

तेस्रो बोलपत्र आह्वान
काठमाडौँ उपत्यका र तराईका जिल्लाका लागि एक लाख क्विन्टल चामल खरीदका लागि बोलपत्र आह्वान गरेको दोस्रो बोलपत्रमा कुनै पनि आवेदन नपरेपछि पुनः तेस्रो बोलपत्र आह्वान गरिएको छ ।

लकडाउन अवधिमा खाद्यान्नमा मूल्य वृद्धि हुँदा कुनै पनि आवेदन नपरेको भन्दै पुरानो दरलाई केही परिमार्जन गरेर गत वैशाख ३१ गते पन्ध्र दिनको समयावधि राखेर बोलपत्र आह्वान गरिएको छ । कम्पनीले पहिलो पटक चैत ५ गते ३० दिनको समयसीमा राखेर प्रथम पटक बोलपत्र आह्वान गरेको थियो भने पुनः वैशाख १० गते १५ दिनको अवधि राखेर दोस्रो बोलपत्र आह्वान गरेको थियो ।

२०७७ जेठ २ गते शुक्रवार १७:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु