पशुपति क्षेत्रलाई राजनीतिक भर्तीकेन्द्र बनाउनु हुँदैन: प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री तथा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री सुशीला कार्की ले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्रमा रूपान्तरण गर्न नहुने बताएकी छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले धार्मिक संस्थामा राजनीतिकभन्दा धार्मिक र आस्थावान व्यक्ति आवश्यक हुने धारणा राखिन्।
‘धार्मिक संस्थाका आफ्नै नियम, मूल्य र परम्परा हुन्छन्। यी हाम्रा मौलिक संस्कृति र विश्वासका प्रतीक हुन्। पशुपतिनाथ संसारभरिका हिन्दूहरूको आस्थाको केन्द्र हो। यस्तो पवित्र स्थानमा राजनीतिको छायाँ पर्नु दुर्भाग्यपूर्ण हुनेछ’ प्रधानमन्त्री कार्कीले भनिन्।
उनले थप गरिन्, ‘पशुपति क्षेत्र विकास कोषलाई दलका कार्यकर्ता भर्ती गर्ने केन्द्र बनाउने प्रयास गलत हो। यहाँ कार्यरत व्यक्तिहरू धार्मिक आस्था र निष्ठासँग जोडिएका हुनुपर्छ। राजनीतिक विचारभन्दा माथि उठेर धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्छ।’
कानुन अनुसार, कोषको सञ्चालन तथा रेखदेखका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा सञ्चालक परिषद् रहने व्यवस्था छ।
प्रधानमन्त्री कार्कीले सोही परिषद् बैठकमा पशुपति क्षेत्रलाई धार्मिक आस्थाको केन्द्रका रूपमा अझ सुदृढ बनाउन सबै सरोकारवालालाई सहकार्य गर्न आह्वान गरिन्।
२०८२ कात्तिक २४ गते सोमवार १७:१२ बजे प्रकाशित























