कार्की नेतृत्वको सरकार असंवैधानिक, प्रगिगामी र हाहुको भरमा बनेको सरकार हो: ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र प्रतिगामी सरकार भएको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौंमा एमाले शिक्षा तथा मानवस्रोत विभागद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले कार्कीले संविधान मिचेर प्रधानमन्त्री भएको आरोप लगाए। उनले भने, “असंवैधानिक सरकार, कुनै संविधानले नगर्नु भनेको ठाउँमा प्रधानन्यायाधीश (प्रधानमन्त्री) हुन मिल्दैन। मानव अधिकार आयोगबाहेक कुनै जागिरमा पनि मिल्दैन। पूर्व प्रधानन्यायाधीश आफैंले संविधान मिचेर प्रधानमन्त्री बन्ने तयारी गरेको यो असंवैधानिक, प्रगतिविरोधी, हाहुको भरमा बनेको सरकार हो।”
ओलीले डिस्कर्डमार्फत प्रधानमन्त्री चयन भएको र त्यसरी मत गणना गरिएकोप्रति पनि प्रश्न उठाए। उनले भने,“२–३ हजार मानिस मात्र डिस्कर्डमा भोटिङमा सहभागी भए, मतपत्र कस्तो थियो, रेजा लाग्यो कि प्वाल पारियो, अमेरिकाजस्तो भयो कि भएन, यस्ता हावाको भरमा बनेको हाहुको सरकार।”
उनले ज्ञानेन्द्र शासनविरुद्धको संघर्षमा आएको एमालेले हालको अराजकता र आगजनीको बलमा बनेको सरकारसँग नझुक्ने पनि बताए। “२४ गतेको आगजनी र तोडफोडबाट बनेको सरकार संविधान, जनअनुमोदन, लोकतन्त्र, संसद र प्रतिनिधिसभासँग मेल खाँदैन। यो वैरभाव, प्रतिगमनकारी, कमजोर र जनसमर्थनविहीन सरकार हो। हाहुमा आगो लगाएको, लुटपाट गरेको, अराजकता फैलाएको भरमा बनेको सरकार हो।”
ओलीले वर्तमान सरकारलाई इतिहास, परम्परा र जनसमर्थनको आधारविहीन भन्दै प्रतिगमनकारी बताए।
२०८२ कात्तिक २१ गते शुक्रवार १७:०० बजे प्रकाशित























