जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आवश्यक: विप्लव
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आवश्यक नभएको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै विप्लवले जनताको वास्तविक सत्ता स्थापित नभएसम्म प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा व्यावहारिक नहुने बताएका हुन्।
उनले भने, “जनताले प्रत्यक्ष रूपमा चुन्ने कार्यकारी—राष्ट्रपति या प्रधानमन्त्रीमा जान सकिन्छ, तर त्यसका लागि पहिले राज्यसत्ता जनताकै हातमा हुनुपर्छ। अहिलेको अवस्थामा त्यो सम्भव छैन।”
विप्लवले हालको राजनीतिक व्यवस्थामा पैसाको प्रभाव, एनजिओ संस्कृति र विदेशी हस्तक्षेप बढिरहेको आरोप लगाउँदै भने, “आज प्रत्यक्ष कार्यकारी भनियो भने फेरि पैसाको बलमा एनजिओका डाँकाहरू विदेशी डलर लिएर नेपाली जनतालाई भ्रष्टीकरण गर्नेछन्। यस्तो अवस्थामा निष्पक्ष निर्वाचन सम्भव छैन। यी सबैलाई नियन्त्रण गरेर मात्र निष्पक्ष चुनाव सम्भव हुन्छ।
२०८२ कात्तिक २० गते बिहीवार १७:०७ बजे प्रकाशित























