रवि लामिछाने र छविलाल जोशीको मुद्दामा सुरुवाती मिसिल मगाउने अदालतको आदेश
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
बुटवल । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी सम्बन्धी मुद्दामा अदालतले सुरुवाती मिसिल (मूल फाइल) मगाउने आदेश दिएको छ।
तुलसीपुर उच्च अदालत, बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले बिहीबार उक्त आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन्।
यसअघि कात्तिक १३ गते तोकिएको पेसी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित गरिएको थियो। त्यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले लामिछाने र जोशी दुवैको मुद्दा एकैसाथ सुनुवाइ गर्न आदेश दिएको थियो।
बिहीबारको बहसमा लामिछाने पक्षका कानुन व्यवसायी महेन्द्र पाण्डे र बाबुराम पाण्डे, जोशी पक्षबाट अपूर्व खतिवडा लगायतले बहस गरेका थिए।
लामिछानेले बिगोअनुसारको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न अनुमति मागेका थिए। तर उच्च अदालतले उनको मागमा निर्णय नगरी, पहिला दुवैको सुरुवाती फाइल (मिसिल) पेस गर्न आदेश दिएको हो।
२०८२ कात्तिक २० गते बिहीवार १७:०४ बजे प्रकाशित























