मनसुनजन्य विपदमा परि ४६ जनाको मुत्यु, जनजीवन सामान्य बन्दै
काठमाडौँ। अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन क्रमश: सामान्य बन्दै गएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज मध्यान्हसम्मको विवरणअनुसार मनसुनजन्य विपदबाट मुलुकभर ६ जना बेपत्ता भएका छन् भने २४ घाइते भएका छन् । सशस्त्र प्रहरी बलले भने मनसुनजन्य विपद् र यहीबीचको सवारी दुर्घटनासमेत गरी हालसम्म ५५ जनाको मुत्यु भएको जनाएको छ ।
कोशी प्रदेशको इलाममा मात्रै पहिरोमा परी ३७ जनाको निधन भएको छ । सो प्रदेशमा पहिरो तथा डुबानका कारण इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा मानवीय क्षति भएको छ । विपद् जोखिममा परेका १८ जनालाई यसबीचमा नेपाली सेनाको हेलीकोप्टरबाट उद्धार गरिएको छ ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाअनुसार गए रातिसम्मको विवरणमा सवारी दुर्घटनासमेत गरी कोशी प्रदेशमा मात्रै विभिन्न २२ घटनामा ४९ जनाको मृत्यु, एक बेपत्ता र १७ जना घाइते भएका छन् । झापाको झापा गाउँपालिकामा ४९० घरधुरी डुबानबाट प्रभावित भएकामा एक हजार ६६४ जनालाई सुरक्षित स्थानामा स्थानान्तरण गरिएको थियो । झापाको गौरीगञ्जमा १०५ घरमा पानी पसेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लगिएको थियो ।
कोशी प्रदेशको जनजीवन सामान्य बन्दै
अविरल वर्षा, बाढी र पहिरोका कारण सबैभन्दा बढी मानवीय क्षति भएको कोसी प्रदेशको जनजीवन क्रमश: सामान्य बन्दै गएको छ । सो प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पूर्वतयारी र विपद्पश्चात् उद्धार तथा सहयोगका काम गरेको थियो । जल तथा मौसम विज्ञान विभागको पूर्वसूचनाका आधारमा सरकारको पूर्वतयारी प्रभावकारी भएकाले थप मानवीय क्षति हुन पाएन् ।
सुरक्षा निकायले मानवीय जीवनलाई पहिलो प्राथमिकतामा राखेर उद्धारका काम गरेको र पानी रोकिएकाले अहिलेसम्म उद्धारका काम पूरा भएको सुरक्षा निकायका कोसी प्रदेशका प्रमुुखहरुले बताएका छन् । झापाको आयरल्याण्डमा परेकालाई तथा पाँचथर र सङ्खुवासभाबाट गर्भवतीलाई हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । कोशीमा पानीको बहाव आइतबार प्रतिसेकेण्ड पाँच लाख ३३ हजार क्युसेक रहेकामा आज दुई लाख ७७ क्युसेकमा झरेको छ ।
नेपाली सेनाका उपरथी एवं पूर्वीपृतनापति गौरवकुमार केसीका अनुसार पानी पर्न रोकिएकाले जनजीवन सामान्य हुँदै गएको र प्रभावित क्षेत्रमा आवश्यकतानुसार उद्धारको काम भइरहेको राससलाई जानकारी दिए।
“इलामको दुर्गम र सदरमुकामबाट टाढा रहेको स्थानमा पहिरोले पुरानो घर भत्किएर बढी मानवीय क्षति भयो । इलाममा पनि यहाँ बढी मानवीय क्षति भएको छ”, उपरथी केसीले भने, “सप्तकोसीको जल सतह अहिले घटेको छ । ठाउँठाउँमा पहिरो गएकाले मेची राजमार्ग पूर्णत: बन्द छ । एकै कमाण्डस्थलबाट धेरै ठाउँमा संयुक्त सुरक्षा टोलीबाट काम भएकाले सूचना आदानप्रदान र उद्धारमा सहजता आएको छ ।”
नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले जनजीवन समान्यतर्फ उन्मुख भएको बताए। उनले आज इलामबाट घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको र अबको काम इलामको लाइफलाइनका रूपमा रहेका सडकलाई पुन: सञ्चालन गराउन केन्द्रित भएको बताए । उनले प्रदेशका अन्य जिल्लामा पनि पहिरोबाट प्रभावित सडकलाई खुलाउन प्रहरी केन्द्रित भएको बताए। उक्त क्षेत्रमा बाढीबाट मानवीय क्षति हुन पाएको छैन । राहत वितरणको काम कानुनबमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए।
सशस्त्र प्रहरी बलका कोसी प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले उद्धारका काम सकिएपछि पुन:स्थापनाका लागि काम भइरहेको बताए। उनले सशस्त्रकै युनिटसमेत पनि प्रभावित भएको स्थितिमा आफूहरु उद्धार र पुन:स्थापनाको कामलाई सँगसँगै गर्दै अघि बढेको बताए।
“पहिरोबाट इलाममा धेरै घर ध्वस्त भएका छन् । पुन:निर्माणका लागि सरकारले नीति बनाउँछ होला । सप्तकोसीको जल सतह घटेकाले खतराको सङ्केत हटिसकेको छ । हामी जनजीवन समान्य बनाउन तल्लीन छौँ”, उनले भने ।
सडक अवरुद्ध हुँदा केन्द्रीय टोली जान सकेन
इलाममा बाढी तथा पहिरोबाट सात ठाउँमा सडक अवरुद्ध भएकाले गृहमन्त्री ओमप्रकाश अर्यालसहितको केन्द्रीय टोली आज स्थलगत अवलोकनका लागि त्यसतर्फ जान सकेन । सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेले केन्द्रीय टोली आउने तय भए पनि सडक अवरुद्ध भएकाले सम्भव नभएको जानकारी दिए।
“हामी सबै मिलेर विपद्को डटेर सामना गर्नु र धैर्य राख्नु नै अहिलेको विकल्प हो । हामी संयुक्त सुरक्षा कमाण्डमा रहेर कोशी प्रदेशको विपद्पछिको उद्धार र सहयोगमा जुटेका छौँ । यसमा नागरिकसँगको सहकार्य पनि आवश्यक छ”, उनले भने।
२०८२ असोज २० गते सोमवार १७:१४ बजे प्रकाशित























