चार वडाध्यक्षको जिम्मेवारी खोस्ने निर्णयबाट पछि हटे बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह चार वडाध्यक्षको जिम्मेवारी खोस्ने निर्णयबाट पछि हटेका छन् ।
१ जेठमा बालेनले सूचना प्रविधि समिति संयोजक नवीन मानन्धर, सुशासन समिति संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत र विधायन समिति संयोजक मचाराजा महर्जनको जिम्मेवारी खोसेका थिए ।
साहले आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरलाई क्रमश: सम्पदा तथा पर्यटन, विधायन, सुशासन र सुचना तथा प्रविधि समितिको जिम्मेवारीबाट हटाएकोमा अहिले निर्णय फिर्ता लिएका हुन् । उनीहरूले कार्यपालिकाको निर्णयबिना आफूखुसी निर्णय नगर्न मेयर साहलाई चेतावनी समेत दिएका थिए ।
नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले संयुक्त विज्ञप्ति निकालेर कार्यपालिकाले जिम्मेवारी अनुमोदन नगरेकाले मेयर बालेनलाई पत्र पठाएर पद अस्वीकार गरेका थिए ।
विधायन समितिको जिम्मेवारी भने वडा-१६ कि अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको थियो ।
२०८२ असार ५ गते बिहीवार १७:१७ बजे प्रकाशित