भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू एकैठाउँमा

काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा मार्फत हुने मानव तस्करी’ को संगठित अपराधको अन्त्य गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा संघीय सदनमा रहेका सबै प्रतिपक्षी दलहरू एकमत भएको जनाएको छ।
‘हाल संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिषा मार्फत मानव तस्करीको संगठित अपराध’ सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ,’ कार्यबाहक प्रवक्ता झाले बताएका छन् ।
लामो समयदेखि नेपालमा भिजिट भिसाको आवरणमा मानव तस्करीको संगठित सञ्जाल सक्रिय रहेको र यसमा उच्च पदस्थ व्यक्तिहरूको समेत संलग्नताको आशंका गरिँदै आएको छ।
प्रतिपक्षी दलहरूको यो साझा ऐक्यबद्धताले अब संसदमा सरकारमाथि थप दबाब सिर्जना गर्ने देखिन्छ।
२०८२ जेठ २९ गते बिहीवार १७:३१ बजे प्रकाशित