वैशाख ७ गते निषेधित क्षेत्रमै प्रदर्शन गर्ने राप्रपाको निर्णय

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ७ गते पार्टीले निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने भएको छ ।
बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
‘सरकारले नागरिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ, त्यसको विरुद्ध हामी निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ उनले भने ।पार्टीको विशेष समितिको बैठक बसेर थप कार्यक्रमहरू सार्वजनिक गर्ने उनले जानकारी दिए ।
राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरू नि:शर्त रिहा नगरे अन्दोलन चर्काउने चेतावनी दिएको छ ।बैठकले वैशाख ९ गते सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।
पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणा लगायत चैत १५ को प्रदर्शनमा सहभागी बन्दीलाई रिहाई गर्न माग गर्दै आन्दोलनलाई सशक्त बनाउँदै लैजाने र कानुनी एवं राजनीतिक लडाइँलाई निरन्तरता दिने पनि कार्यसम्पादन समितिको बैठकले निर्णय गरेको राप्रपाले जानकारी दिएको छ ।
२०८२ वैशाख ४ गते बिहीवार १७:४२ बजे प्रकाशित