बिना लेवलका वस्तु बजारमा भेटिए कानूनी कारबाही गर्ने हानिर्देशक दाहालको चेतावनी

काठमाडाैं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बजारमा बिना लेवलका उत्पादनहरु खुलम खुला विक्री वितरण भइरहेको भेटिएको बताउनुभएको छ । बुधवार विभागको कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐनविरुद्ध हुने गरी बिना लेवलका उत्पादन बजारमा विक्री वितरण भइरहेको पाइएको बताउनुभयो । उहाँले सिमेन्ट र डन्डीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासोपछि उत्पादक र व्यवसायीसँग छलफल गरिएको बताउनुभयो ।
उत्पादित वस्तुको मूल्य वृद्धि हुनाको औचित्य पुष्टि गर्न उत्पादक र व्यवसायीलाई निर्देशन दिएको उहाँको भनाइ छ । उहाँले उत्पादनमा अधिकत्तम खुद्रा मूल्य र वस्तुको गुणस्तर प्रष्ट रुपमा लेख्नुपर्ने कानूनी व्यवस्था विपरित उत्पादक र व्यवसायीले कानुनको बर्खिलाप गरेको उल्लेख गर्नुभयाे । उहाँले विना लेवलका सिमेन्ट र डन्डी विक्री गर्ने केही डिलरलाई विक्री वितरणमा रोक लगाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाल बजारमा सिमेन्ट र डन्डी लगायतका केही वस्तुहरुमा अत्यधिक मूल्य वृद्धि भएको विषयमा सिमेन्ट र डन्डी उत्पादक तथा व्यवसायी एवं उत्पादक संघसँग छलफल र अन्तरक्रिया गरिएको र उनीहरुलाई मूल्य वृद्धिको कारण औचित्य पुष्टि गर्न निर्देशन दिइएको छ । केही सिमेन्ट र डन्डीका डिलरहरुलाई विक्री वितरणमा रोक पनि लगाइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ र अन्य प्रचलित कानूनको बर्खिलाप गरी केही उत्पादकहरुले बिना लेवलका उत्पादन बजारमा खुल्ला बिक्री वितरण गरेको विभागको अनुगमनबाट पाइएको छ ।”
महानिर्देशक दाहालले कानुनको भावना र मर्मविपरित हुनेगरी विना लेवलका कुनैपनि उत्पादन बिक्री वितरण नगर्न आग्रह गर्नुभयो । उहाँले बिना लेवलका वस्तु बजारमा भेटिए कानूनी कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “उल्लेखित ऐनको भावना र मर्मविपरित अब उप्रान्त कुनैपनि स्वदेशी उत्पादक र पैठारीकर्ताले लेवलमा उत्पादकको नाम र ठेगाना, दर्ता नम्बर, उत्पादन मिति, उपभोक्ता गरिसक्नुपर्ने मिति, अधिकतम खुद्रा मूल्य, परिणाम, तौल, गुणस्तर उल्लिखित विवरण र सोमा हुनपर्ने विवरणहरु उल्लेख गरी बिक्री वितरण गर्नु हुन अनुरोध गरिन्छ । साथै बिना लेवलका वस्तुहरु बजारमा बिक्री वितरण गर्न राखिएमा प्रचलित कानुन बमोजिम सजाय हुने व्यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।”
महानिर्देशक दाहालले उत्पादक र व्यवसायीले वस्तुको मूल्य बढाउनुपर्ने कारणको औचित्य पुष्टि गर्नुपर्ने बताउनुभयो । उत्पादक र व्यवसायीले बढी लाभका लागि अनुचित मूल्य वृद्धि गरेको भेटिए कानून अनुसार कारबाही हुने उहाँको भनाइ छ ।
२०८१ चैत १३ गते बुधवार १७:१२ बजे प्रकाशित