भारतमा रेल दुर्घटनाः मृत्यु हुने १३ जनामध्ये ४ नेपाली रहेको पुष्टि

महाराष्ट्र। भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा ज्यान गुमाएका १३ जनामध्ये चार जना नेपाली पनि रहेको अधिकारीहरूले बताएका छन्। रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा अर्को रेलमा ठोक्किएर उनीहरूको ज्यान गएको थियो ।
बिबिसी नेपाली सेवाको अनलाइन संस्करणमा प्रकाशित समाचारमा ज्यान गुमाउनेमध्ये चार जना नेपाली छन् । भारतस्थित नेपाली राजदूतावासका अधिकारीहरूले उक्त दुर्घटनामा भएको नेपालीहरूको मानवीय क्षतिबारे आफूहरू जानकार रहेको र भारतीय पक्षसँग सम्पर्कमा रहेको जनाएका छन् ।
नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सिलर सञ्जीव शर्मा दासले बिबिसीसँग भन्नुभयो, ‘‘मृतकहरूको सनाखत भएको जानकारी हामीले पाएका छौँ।’’
दूतावासका अनुसार ज्यान गुमाउनेमध्ये चारैजनाको सनाखत भएको छ। ज्यान गुमाउने नेपालीमा दुई जना पुरुष र दुईजना महिला रहेको भनिएको छ। त्यसमध्ये एक पुरुष कोशी प्रदेशका र अर्की महिला सुदूरपश्चिमकी रहेको भारतीय निकायलाई उद्धृत गर्दै अधिकारीहरूले जनाएका छन्।
२०८१ माघ १० गते बिहीवार १७:२३ बजे प्रकाशित