नेपालबाट बंगलादेश विद्युत् बिक्रीको बाटो खुल्यो, १० वर्षमा ५ हजार मेगावाट निर्यातको लक्ष्य

काठमाडौं । नेपालबाट बंगलादेश विद्युत् निर्यातको बाटो औपचारिक रुपमा खुलेको छ । बिहिबार काठमाडौंमा बंगलादेशमा ४० मेगावाट बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत व्यापार निगमबीच त्रिपक्षीय सम्झौता भएको हो।
सम्झौता कार्यक्रममा बोल्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले बंगलादेशलाई हरेक बर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत निर्यात गर्ने बताए।
‘यो ऐतिहासिक सम्झौता भएको छ। बंगलादेशलाई बिजुली बिक्री गरेर नेपालले वार्षिक ९’२ मिलियन अमेरिकी डलर आम्दानी गर्छ,’ उनले भने।
५ वर्षसम्म विद्युत निर्यातका लागि यो सम्झौता भएको हो । यो सम्झौताअनुरूप हरेक वर्ष १४ करोड ४० लाख युनिट विद्युत् बंगलादेश निर्यात हुने जानकारी घिसिङले दिए । हरेक वर्ष करिब १ खर्ब २१ करोड रुपैयाँ ९९० लाख २० हजार अमेरिकी डलर० को विद्युत् बंगलादेश निर्यात हुने जानकारी पनि घिसिङले दिए ।
भारतको आवश्यक अनुमति पाएपछि निर्यात सुरु हुने उनले बताए । नेपाल तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने पहिलो मुलुक हुने जानकारी पनि उनले दिए ।
१० हजार मेगावाट भारतलाई र ५ हजार मेगावाट बंगलादेशलाई विद्युत् निर्यात गर्ने लक्ष्य रहेको उनले बताए ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालले भारतको प्रसारण प्रणाली प्रयोग गरेर बंगलादेशमा विद्युत व्यापार सुरू गर्नु दक्षिण एसियाकै लागि कोशेढुंगा सावित भएको बताए।
सम्झौतापछि प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्नेछ।
प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ।
२०८१ असोज १७ गते बिहीवार १८:५३ बजे प्रकाशित