साल्ट ट्रेडिङले उपभोग्य वस्तुको आपूर्ति सहज बनाएर उपभोक्तालाई विश्वास दिलाउनुपर्छः मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउन सक्नुपर्ने बताएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ वर्ष पूरा गरी ६२ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले असहज परिस्थितिमा साल्ट ट्रेडिङ कर्पोरेशनले बस्तुको उपलब्धता गराउनुपर्ने बताएका हुन्
‘साल्ट ट्रेडिङ जनताको विश्वासिलो संस्था बन्न सकोस्, ‘अब दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन साल्ट ट्रेडिङ मेरो साथमा छ’ भनेर आमजनतालाई विश्वास दिलाउनुपर्छु, मन्त्री भण्डारीले भने, उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अस्वभाविक मूल्यवृद्धि हुन नदिन यस संस्थाले उपभोग्य बजारमा गतिलो हस्तक्षेप गर्नुपर्छ ।’
सेवा प्रवाह, बजारीकरण, दायरा र व्यापार वृद्धि गर्न प्रविधिको प्रयोगलाई बढावा दिनुपर्नेतर्फ सचेत गराउँदै मन्त्री भण्डारीले उपभोग्य वस्तुको कृत्रिम अभाव अन्त्य गर्न तथा रासायनिक मलको सहज आपूर्तिमा यसले नेतृत्वयादी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
मन्त्री भण्डारीले आपूर्ति बजारमा साल्ट ट्रेडिङको भूमिका अपरिहार्य रहेको र अप्ठ्यारो अवस्थामा अत्यावश्यक वस्तुको उपलब्धता सहज बनाउन संस्थाले उल्लेख्य काम गरेको स्मरण गरेका थिए ।
अत्यावश्यक वस्तुको अभाव हुन नदिनेतर्फ संस्था सदैव सचेत हुनुपर्नेमा जोड दिँदै उनले रासायनिक मलको आपूर्ति व्यवस्था थप सहज बनाउन क्रियाशील बन्नुपर्ने बताए ।
२०८१ भदौ २७ गते बिहीवार १७:२५ बजे प्रकाशित