सङ्घीय संसद्को अधिवेशन भोलिदेखि: सभामुखद्वारा बैठक कक्षको अवलोकन, सम्पूर्ण तयारी पूरा

काठमाडौँ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्यलाई आवश्यक परेका धेरैभन्दा धेरै विधेयक पारित गरी कार्यान्वयन गर्न जरुरी भएको बताउनुभएको छ । साथै उहाँले भोलिदेखि हुने संसद् बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ ।
भोलिदेखि हुने सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन तयारीबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले हिँउदे अधिवेशनलाई प्रभावकारी तुल्याउन नयाँ समयसारिणी बनाएर काम गर्ने अठोट गरिएको बताउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, “त्यो अठोटलाई कार्यान्वयन गर्न अहिले १५ दिनको समयसारिणी बनाएर कार्यान्वयन गर्दै अघि बढ्ने प्रयत्न हुनेछ । त्यसपछि पनि सोहीअनुसार नै जाआँै भन्ने तयारीका साथ अघि बढ्ने सोच छ । बजेट प्रस्तुति अघिको छलफलका लागि कानुनी प्रबन्धसहित अध्यादेश आएको छ । त्यसअनुसार कार्यतालिका मिलाइने छ । ” उहाँले आफूहरुले दिएका सुझावलाई सरकारले सकारात्मक ढङ्गले लिएको बताउनुभयो ।
सभामुखले भन्नुभयो, “प्री बजेटका प्राथमिकता र सिद्धान्तमाथि पहिले छलफल गर्ने, त्यसमा आएका सुझावका आधारमा सदनमा बजेट प्रस्तुत गरिने छ ।” संसद् अधिवेशनमा सरकारले विधेयकको कमी हुन नदिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सदनलाई बिजनेस दिएर लक्ष्यअनुरुप कानुन निर्माण गर्न सवैको प्रयत्न हुनुपर्छ । निराशा होइन, आशा जगाउनेतर्फ शिक्षा लिएर अघि जानुपर्छ ।”
हिउँदे अधिवेशन सञ्चालनका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सभामुखबाट विधेयकबारे कानुन, न्याय तथा संसदीय मामिलासम्बन्धी मन्त्रीसँग परामर्श भइसकेको छ । नियमितरुपमा गर्नुपर्ने सबै काम पूरा भएका छन् ।”
२०८० माघ २१ गते आइतवार १७:३२ बजे प्रकाशित