काम नगर्ने मन्त्रीलाई तुरुन्तै फिर्ता बोलाउनुपर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै फिर्ता बोलाउनुपर्ने बताएका छन् । मन्त्री भएर काम नगर्ने मन्त्रीहरूलाई पार्टीले तुरुन्तै फिर्ता बोलाएर अर्कोलाई मौका दिनुपर्ने बताएका छन् ।
शनिबार भक्तपुर–२ को क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले अब नेतृत्वले डेलिभेरी गर्न नसक्ने व्यक्तिलाई मौका दिएर हेर्ने समय पार्टीसँग पनि नभएको बताए ।
थापाले भने, ‘सरकार भनेको प्राइभेट कम्पनी होइन । नौ महिना भनेको थोरै समय होइन, अहिले देश कांग्रेसको जिम्मामा छ । जसले त्यो जिम्मेवारी निभाउन सक्दैन । जसले काम गर्न सक्दैन, उसलाई मौका छैन । काम नगर्ने मन्त्रीलाई तुरुन्तै फिर्ता बोलाउनुपर्छ ।’
उनले पार्टीमा सबैजसो निर्णयमा सभापतिको भूमिका रहेको भन्दै नेता कार्यकर्ताले पार्टी बिग्रियो भनेर आफूतिर हेर्ने गरेको सुनाए ।
२०८० पुस १४ गते शनिवार १७:५० बजे प्रकाशित