एनसेलको सेयर खरिदबिक्री कहिँ न कहिँ गलत छ भन्ने लागेरै छानबिन समिति बनाइएको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको बताएका छन् । उनले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले एनसेलको सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।
मंगलबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री प्रचण्डले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका हुन् ।
आफू विदेशमा हुँदा यसबारे सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै उनले एनसेलको सेयर मूल्यांकन न्यून भएको र कल छलीको विषयमा सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई छानबिन गर्न निर्देशन दिएको बताए ।
साथै यसबारे छानबिन गर्न समिति बनाएको बताउँदै उनले समितिले विदेशी लगानीमा पर्ने असर, राजस्वमा पर्ने असर लगायतका विषयमा ३० दिनभित्र अध्ययन गरेर सुझाव तथा रायसहितको प्रतिवेदन दिने बताए ।
‘यस प्रकरणमा कतै कसैबाट कानुन विपरीतको कामकारबाही भएगरेको पाइएमा, जुन सरकारलाई सहज नलागेकै हुनाले मैले सुरुमै निर्देशन जारी गरेको पनि हो । सहज छैन, स्वाभाविक छैन यो खरिदबिक्री भन्ने देखिएकै हुनाले नै निर्देशन जारी गर्नु परेको हो,’ उनले भने, ‘यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो ।’
२०८० पुस ३ गते मंगलवार १७:४५ बजे प्रकाशित