भृकुटीमण्डपस्थित खुल्ला बजारका समस्या तत्काल समाधान गर्न मन्त्री आचार्यको निर्देशन
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपस्थित खुल्ला बजारको समस्या तत्काल समाधान गरिने जानकारी दिनुभएको छ ।
‘भृकुटीमण्डप हाताभित्र अवस्थित खुल्ला बजारको ३२औँ स्थापना दिवस’ का अवसरमा काठमाडौँ निम्न व्यापारी सङ्घद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खुल्ला बजारभित्रका समस्या तत्काल समाधान गर्न सङ्घ र समाज कल्याण परिषद्लाई निर्देश गर्नुभयो ।
“प्लास्टिकको छानालाई टिनको छानामा परिवर्तन गर्न लागि पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “शौचालय, खानेपानी, ढल निकासलगायत यस क्षेत्रका समस्या समाधान गर्न सरकारले बजेट बिनियोजन गरेको छ । ”
सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले प्लास्टिकको छानामुनि व्यापार गर्न जोखिम रहेकोे बताउनुभयो । “परिषद्लाई टिनको छाना लगाउन पहल गर्न पटक पटक अनुरोध गरेको तर अझै पनि छानामुनिको कष्टप्रद व्यापारी, ग्राहकले भोगिरहेका छन् । विगतदेखिका यी समस्या समाधानमा समन्वयात्मक पहल आवश्यक रहेको छ,” उहाँले भन्नुभयो
२०८० पुस २ गते सोमवार १८:४० बजे प्रकाशित