"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विदेश पठाउन फर्जी कागज बनाएको आरोपमा तीन अधिकृतसहित ३२ जना पक्राउ

काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थप दुईजना अधिकृत पक्राउ परेको छन् ।

प्रहरीले नेपाल वायुसेवा निगममा कार्यरत अधिकृतहरू अरविन्द यादव र विश्वनाथ कोइरालालाई पक्राउ गरेको हो । यसअघि वायुसेवा निगममा कार्यरत अर्का अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

आज पक्राउ पर्नेमा नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत अरविन्द यादव र अध्यागमन विभागमा कार्यरत अधिकृत नरवीर खड्का रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका अधिकृतहरुले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लाभ लिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यसअघि सोही आरोपमा नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सङ्कलन गरेर पठाएका एक हजार ३२ थान भिसासहितका कागजातबाट अनुसन्धान गर्दा गिरोहले पर्यटक भिसाका लागि फर्जी कागजात बनाई विदेश पठाउने गरेको भेटिएको हो ।”

उक्त प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक छजना, प्रहरी एकजना, पूर्वप्रहरी एकजना, एयरलाइन्सका दुईजना र अन्य ११ जना रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नौजनामाथि सङ्गठित अपराधमा र १२ जनामाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

२०८० मंसिर २७ गते बुधवार १८:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु