पुस २३ मा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ता
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता २३ पुसका लागि तोकेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ताका लागि २३ पुस बिहान १० बजेदेखि ३ बजेसम्मको समय तोकेको हो ।
आयोगका अनुसार उम्मेदवारविरुद्ध उजुरी दर्ताको काम २४ पुसमा हुनेछ । उम्मेदवारी पत्र र उजुरीमाथि जाँचबुझ गरी अन्तिम नामावली २६ पुसमा प्रकाशन गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार २७ पुसमा उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ । त्यसका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेको समय तोकिएको सहायक प्रवक्ता अर्यालले बताए ।
उनका अनुसार उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न भने २८ पुस बिहान १० बजेदेखि १ बजेसम्म उपलब्ध गराउने आयोगले जनाएको छ ।
२०८० मंसिर १७ गते आइतवार १७:४९ बजे प्रकाशित