लम्पी स्किनबाट पीडित किसानलाई प्रति पशु दश हजार राहत
तनहुँ: म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका किसानलाई राहतस्वरुप प्रति पशु रु दश हजारका दरले राहत वितरण गरिएको हो ।
व्यवसाय पुनःस्थापन सहयोग कार्यक्रमअन्तर्गत ३१ जना किसानलाई ३५ पशुको प्रति पशु रु दश हजारका दरले सहयोग प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सातवटै वडाका किसानलाई गरी कूल रु तीन लाख ५० हजार राहत प्रदान गरिएको छ । लम्पी स्किन रोगबाट ४० चौपायाको मृत्यु भएकामा बीमा नगरिएका ३५ पशुको राहत रकम प्रदान गरिएको अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गतवर्ष महामारीका रुपमा फैलिएको लम्पी रोगका कारण सात वटै वडाका किसान प्रभावित भएका थिए । गाउँपालिकाभर ४० गाई, गोरु, भैँसी, राँगा मरेका थिए । त्यसमध्ये पाँच वटा पशुको बीमा गरिएको थियो । बीमा नगरेकालाई गाउँपालिकाले राहतस्वरुप केही रकम सहयोग गरेको हो ।”
२०८० मंसिर १२ गते मंगलवार १७:४६ बजे प्रकाशित