दसैँ, तिहारका लागि उत्पादन गरिएका कुखुरा अझै बिक्री हुन सकेन
काठमाडौँ । दसैँ, तिहारका लागि उत्पादन गरिएका कुखुरा अझै बिक्री हुन नसकेको पाइएको छ । हाल मासु उपभोग गर्नेको संख्या घटेका कारण ठुला चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएका कुखुरा बिक्री हुन नसकेका हुन् ।
ठुला चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएका कुखुरा करिब २५ प्रतिशत अझै मौज्दात रहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले बताए । विगतका वर्षमा कोरोना, डेंगुका कारणले पर्वमा मान्छे उपत्यकामै बसे तर यो वर्ष उपत्यका छोड्ने धेरै भएका कारण उपत्यकामा मासुको खपत कम भएको उनकाे भनाइ छ ।
यसका साथै हाल मासु उपभोग गर्नेको संख्यामा कमी, आर्थिक मन्दी, वैदेशिक रोजगारी लगायतका कारणले पनि उपभोक्ताको संख्या कम भएकाले कुखुरा बिक्री हुन नसकेको बेलबासेकाे भनाइ छ ।
याे वर्ष दसैँमा कुखुराको व्यापार घटेको थियो । संघका अनुसार दसैँ र तिहारमा दैनिक हुने कुखुराको व्यवसायभन्दा करिब ५० प्रतिशत व्यापार घटेको थियो । उपत्यकामा ५ लाख किलो हरेक दिन कुखुराको तयारी मासु बिक्री हुन्छ । देशभर दैनिक ८ लाख किलो कुखुराको तयारी मासु बिक्री हुने संघले जनाएकाे छ ।
२०८० मंसिर १२ गते मंगलवार १७:४१ बजे प्रकाशित