फेरि सञ्चालनमा आयो सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा
काठमाडौँ : सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चलन भएको छ । आजदेखि प्रत्यक दिन बिहान ८ः३० बजेदेखि तीन/तीन मिनेटको फरकमा सूर्यविनायक–रत्नपार्कका लागि बस छुट्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले राससलाई जानकारी दिनुभयो ।
“रत्नपार्क–सूर्यविनायक रुटमा ३६ बस सञ्चालन हुनेछन्”, उहाँले भन्नुभयो, “आज बिहान साँढे ८ बजेदेखि बस नियमित सञ्चालन गरिएको छ ।” यसअघि उक्त रुटको दुवैतर्फ गरी २५ बस सञ्चालन गरिएको थियो । आजदेखि पुनः सुरु भएको उक्त सेवा तीन/तीन मिनेटको फरकमा सूर्यविनायकबाट रत्नपार्क बस प्रस्थान गरेका छन् ।
बस सेवा बिहान १०ः३० बजेसम्म र दिउँसो ३ः३० बजेदेखि ५ः३० बजेसम्म सञ्चालनका लागि तालिका बनाइएको महानिर्देशक रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बस थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको छ ।
२०८० मंसिर १० गते आइतवार १७:३७ बजे प्रकाशित