हलगोरु पाल्ने किसानलाई अनुदान
पर्वत, बढ्दो युवा शक्तिको पलायनसँगै ग्रामीण क्षेत्रमा गोरु पाल्ने प्रचलन हराउँदै गएको छ । पछिल्लो समय गाउँ–गाउँमा मिनिटिलरको प्रयोग बढ्दै गएको अवस्था पनि छ । छोटो समयमै धेरै काम गर्न सकिने, पालनपोषण गर्ने झन्झट पनि नहुने र सरकारी निकायले पनि अनुदानमा मिनिटिलर उपलव्ध गराउन थालेकाले गोरु पाल्ने प्रचलन हराउँदै गएको हो ।
स्थानीय जलजला गाउँपालिकाले भने गोरु पालनतर्फ किसानलाई आकर्षण गर्ने उद्देश्यले अनुदान दिन थालेको छ । कृषिमा यान्त्रिकिकरण बढ्दै जाँदा गोरु लोप हुन लागेको र यसबाट सामान्य आर्थिक अवस्था भएका किसान मारमा पारेकाले गाउँपालिकाले यो योजना लागू गर्न लागेको हो ।
मिनिटिलर किन्न नसक्ने तथा किनेकाहरूका घरमा पनि जनशक्ति अभावले नचलाउने समस्याले किसनाले खेती लगाउन नै छोड्ने स्थिति देखिएकाले गोरु पाल्ने किसनालाई प्रोत्साहन गर्न प्रतिगोरु दुई हजारका दरले अनुदान उपलब्ध गराउन लागिएको गाउँपालिकाले जनाएको छ । सो अनुसार हलगोरु पाल्ने किसानलाई भने रु १५ हजार अनुदान दिइने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यका अनुसार आर्थिक वर्ष २०८०÷८१ को पशुसेवा शाखातर्फ स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गाउँपालिकाका चार सय गोरुका लागि कूल रु आठ लाख अनुदान वितरण गरिने भएको छ । “यसका लागि गाउँपालिकाका इच्छुक पशुपालक किसान, समूह, फार्म, सहकारी आदिले सूचना प्रकाशन भएको ३५ दिनभित्रमा फाराम भरेर बुझाउनुपर्नेछ,” उहाँले भन्नुभयो, “यो कार्यक्रमका लागि गाउँपालिकामा चालु आर्थिक वर्षमा रु आठ लाख बजेट छ गरिएको छ। स्थानीय गाईगोरु संरक्षण कार्यक्रम कार्यान्वयन मापदण्ड, २०७९ अनुसार नै यो कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो ।
२०८० मंसिर १० गते आइतवार १७:२७ बजे प्रकाशित