भूकम्पमा परी घाइते भएकाको नि:शुल्क उपचार गर्न आयोगको सबै पक्षलाई आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पमा परी घाइते भएकाको उद्धार, नि:शुल्क तथा प्रभावकारी उपचार गर्न सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “भूकम्पमा परी घाइते भएकाको उद्धार, नि:शुल्क तथा प्रभावकारी उपचार गर्न, राहत एवं खोजीमा जुध्न आयोग नेपाल सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई आयोग आग्रह गर्दछ ।”
आयोगले गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिम जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेको छ । साथै, भूकम्पमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आयोगले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आयोगले भूकम्प प्रभावित जिल्लामा आयोगले अनुगमनसमेत सुरू गरिसकेको छ ।
२०८० कात्तिक १८ गते शनिवार १७:०७ बजे प्रकाशित