भारतीको पक्षमा सर्वोच्चको फैसला, रिगललाई पक्राउ गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गरेको छ । अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा। कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।
नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो ।
संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए ।
२०८० कात्तिक १६ गते बिहीवार १७:३९ बजे प्रकाशित