इजरायलमा भएको १० नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा
काठमाडौँ । इजरायलमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो ।
सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माका अनुसार मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको बताइन् ।
मन्त्री शर्माले देशभर बिदा दिएको नभइ राष्ट्रिय शोकको घोषणा मात्रै भएको स्पष्ट गरिन् ।
यस्तै मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
२०८० असोज २२ गते सोमवार १९:३० बजे प्रकाशित