विश्वकीर्तिमानी नेपाली क्रिकेट टोलीलाई पूर्वराजाले दिए बधाई

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा नेपालले विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिएका छन् ।
अनेकौँ प्रतिकुलताका हासिल गरेको सफलताले नेपालको राष्ट्रिय गौरव बढाएको शाहले बताएका हुन् ।
शुभकामना सन्देशमा शाहले लेखेका छन्, ‘मित्रराष्ट्र चाइनाको हाङ्झाउमा भएको १९ औँ एसियाली खेलकुदमा नेपालले मङ्गोलियासँग खेलेको टी२० क्रिकेट खेलमा नेपाली क्रिकेट टिम र खेलाडीहरूले राखेको विश्व कीर्तिमानले हामीलाई अत्यन्तै खुसी तुल्याएको छ । देशको राष्ट्रिय पहिचानले अनेकौँ चुनौतीहरूको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरूले अनेकौँ प्रतिकुलताका बावजुद जुन सफलता हासिल गरेका छन् यसले नेपालको राष्ट्रिय गौरव बढाएको छ भन्ने हामीले महसुस गरेका छौँ । विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा सबै खेलाडी मित्रहरू र नेपाली क्रिकेट टिमलाई यो सफलताको लागि हार्दिक बढाई तथा शुभकामना ।’
गत असोज १० गते एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले नेपालले मंगोलियालाई दुई सय ७३ रनको विशाल अन्तरले हराएको थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो । नेपालले त्यो कीर्तिमान तोडेको हो ।
२०८० असोज १३ गते शनिवार १९:३७ बजे प्रकाशित