हुम्लामा दुई हजार ३७५ मा किनेको चामल कुहिएको पर्यो
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले कुहिएको चामल बिक्री गरेको पाइएको छ।
केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा चामल ढुवानी गरेको थियो।
नाम्खा–५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको बताए।
एक घरधुरीलाई चार बोराका दरले बिक्री गरिएको थियो। उनले त्यसमा दुई बोरा चामल कुहिएको भेटिएको बताए। उनले आफ्नो मात्र नभई अधिकांश खाद्यान्न पाएका घरपरिवारको कुहिएको चामल डल्लैडल्ला परेको भेटिएको बताए।
पच्चीस किलोको बोरा चामलको मूल्य दुई हजार ३७५ मा किनेको र घरमा चामलको बोरा खोल्दा कुहिएको पाइएको स्थानीय जङ्ग लामाले बताए।
करिब ५० घरधुरीका नागरिकले चामल बिक्री गरिएकामा अधिकांश बोरा कुहिएको भेटिएको स्थानीयको गुनासो छ।
२०८० असोज १२ गते शुक्रवार १८:३८ बजे प्रकाशित