मेलम्चीको पानी कहिलेसम्म काठमाडौँ उपत्यकामा ल्याएर वितरण गर्ने भन्नेमा अन्योल
काठमाडौँ । काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्नेमा अन्योल रहेको छ ।
सरकारले पनि मेलम्चीको पछिल्लो क्षतिपछि त्यसको पुन:निर्माणको विषयमा कुनै निर्णय नगरेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । साउनको अन्तिम साता आयोजना स्थलमा थप क्षति पुगेपछि त्यसमा पुगेको क्षतिको विस्तृत अध्ययन हुन नसकेको उनले बताए । उनले भने, “सरकारले पुन:निर्माण कहिले र कसरी गर्ने भनी निर्णय गरेपछि काम गरिनेछ ।”
वर्षा सुरु हुनुपहिले सुरुङ बन्द गर्दा वर्षा सकिएपछि तुरुन्त पानी चलाउने गरी योजना बनाइएको थियो । गत साउन २८ र २९ गते ठूलो बाढी गएर पुरिएको थियो । अहिले पहुँचमार्ग सबै बगेकाले तत्काल पानी चलाउन नसकिएको उनले बताए । उनले भने, “अहिले पनि एक दिन बिराएर धमिलो पानी आइरहेकाले नदीको सतह बढिरहेको छ ।”
अहिले तत्काल ‘हेडवर्क’सम्म पुगेर काम गर्न सकिने अवस्था नभएको सूचना अधिकारी पन्तले बताए । पानी पर्न छाडेर नदीमा पानीको बहाव स्थिर भएमा त्यसपछि मात्रै हेडवर्कमा उपकरण लगेर सफाइ र मर्मतको काम गरिने उनले जानकारी दिए ।
२०८० असोज १० गते बुधवार १९:२८ बजे प्रकाशित