सरकार गठन भएको नौ महिना बित्दासमेत एउटै कानुन बन्न र सदन चलाउन नसकेको ओलीको आराेप
ओखलढुंगा । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएकोले एकैछिन राख्न नहुने बताएका छन् । ओखलढुंगाको रामपुरमा आइतबार आयोजित गुरु लुइँटेल स्मृति उद्यान उद्घाटन कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
उनले सरकारलाई सुन तस्करी देख्यौ ? भनेर सोध्दा अर्कोतिर फर्किएर देखिनँ भन्ने गरेको बताउँदै ‘यति नालायक सरकार पनि राख्ने हो ? यसलाई जसरी भए पनि टिपेर मिल्काइहाल्नुपर्छ,’ ओलीले भने, ‘यो सरकारले जनता हेर्दैन । जता पनि सुनमात्रै हेर्छ । ब्रेक-सु ल्याउँछ सुन, सिगरेट ल्याउँछ सुन, स्याउ ल्याउँछ सुन, पानी तान्ने मोटर ल्याउँछ सुन ।’
अहिले कांग्रेस पार्टी विचरा अवस्थामा पुगेको ओलीको टिप्पणी थियो । ‘कांग्रेस त के पार्टी छ भन्नु र ?,’ ओलीले भने, लुरुलुरु प्रचण्डको पछिपछि हिँड्ने भइ रहेकाे छ ।’ सरकार गठन भएको नौ महिना बित्दासमेत एउटै कानुन बन्न नसकेको र सदन चलाउन नसकेको उनकाे आराेप थियाे ।
२०८० असोज ७ गते आइतवार १७:३९ बजे प्रकाशित