संसद् अवरोध संविधान र नियमसंगत छैन, यसको औचित्य पुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी : नेम्वाङ
काठमाडौ । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद अवरोध संविधानसम्मत र नियमसम्मत नभएको बताएका छन्।
संघीय संसद् सचिवालयले आयोजना गरेको ‘संसद् र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा नेम्वाङले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध हुने व्यवस्था संविधान र नियममा उल्लेख नभएको भनाइ थियो । ‘संसद् अवरोध नियमसंगत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको औचित्य पुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो,’ उनले भने ।
तर पटकपटक भइरहेका संसद अवरोधको औचित्य राजनीतिक तवरले पुष्टि गर्न दलहरूले सक्नुपर्ने उनले बताए।
‘नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको पुन:पुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो,’ उनले भने।
नेम्वाङले संविधानसम्मत नभएको भनेपनि उनै उपाध्यक्ष रहेको प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद अवरूद्ध गर्दै आएको छ। एमालेको अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभामा लामो समयदेखिको कार्यसूची अगाडि बढ्न सकेको छैन।
२०८० भदौ २ गते शनिवार २०:०६ बजे प्रकाशित