पार्टीको नाम, लोगो र झण्डा प्रयोग गरेर बनाइएका फेक एकाउन्ट बन्द गराउँदै एमाले
काठमाडौँ। नेकपा एमालेले पार्टीको नाम, लोगो र झण्डा प्रयोग गरेर बनाइएका फेक एकाउन्ट बन्द गर्न पहल गर्ने निर्णय गरेको छ ।
सामाजिक सञ्जालको दुरुपयोगमार्फत समाजमा भ्रम सृजना गरिरहेको निष्कर्षसहित एमालेले फेक एकाउन्ट बन्द गराउन पहल गर्ने निर्णय गरेको हो ।
साउन २९ र ३० गते बसेको एमाले सचिवालय बैठकले पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गराउने निर्णय गरेको अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी अन्तर पार्टी निर्देशनमा उल्लेख छ ।
‘सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको छ । यसले पार्टीपंक्ति तथा समाजमा भ्रम सिर्जना गरिरहेको छ ।
तसर्थ, सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्ने पहलका लागि केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिइएको छ’ एमालेको अपानिमा भनिएको छ ।
२०८० भदौ १ गते शुक्रवार २०:०५ बजे प्रकाशित