मजदुरीका लागि साउदी जान पनि एसइई पास हुनुपर्ने !

काठमाडौं । अब रोजगारीका लागि साउदी अरब जाँदा नेपाली श्रमिकहरू शैक्षिक योग्यताको अर्थात एसइई एसएलसी पुरा गरको प्रमाणपत्र चाहिने भएको छ। यस्तो प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणित गर्नुपर्ने छ। त्यसपछि फेरि साउदी दूतावासबाट प्रमाणीकरण भएपछि मात्रै नेपाली श्रमिकहरू जान पाउने व्यवस्था साउदी सरकारले गरेको हो।
यी निकायबाट प्रमाणीकरण हुने शैक्षिक प्रमाणपत्र न्यूनतम एसइई एसएलसीको हो। योभन्दा तल्लो तहको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गरिँदैन। यसकारण अब मजदुरी लेबर लगायत जुनसुकै कामका लागि साउदी जाने श्रमिकले न्यूनतम एसइई एसएलसीसम्मको अध्ययन पूरा गरेको हुनुपर्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताएका छन्।
‘हाम्रा एसइई, स्नातक, स्नातकोत्तर पढेका सबै मान्छे त साउदीमा मजदुरी गर्न जाँदैनन्। अझ साउदी जाने भनेको त अधिकांश, निर्माण, सरसफाइ, सुरक्षा गार्ड लगायत काममा हो। यो क्षेत्रमा काम गर्न सीप चाहिन्छ, शैक्षिक योग्यता होइन, उनले बताएका छन् । जे भए पनि यो व्यवस्था गलत छ। साउदीले के हिसाबले यो नीति ल्यायोरु दु:ख दिने नियत हो कि केही बुझ्न सकिएको छैन, उनले थपेका छन्’।
यो विषयमा साउदी पक्षसँग छलफलका लागि मन्त्रालयले पत्राचार गरेको उनले बताएका छ।
२०८० जेठ २८ गते आइतवार २०:२७ बजे प्रकाशित