बजेटमा कृषि र उद्योग र स्वरोजगारले विशेष प्राथमिकता पाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा कृषि र उद्योग र स्वरोजगारले विशेष प्राथमिकता पाउने प्रतिबद्धता जनाएका छन् ।
आइतबार काठमाडौँमा आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि र उद्योग र स्वरोजगारले विशेष प्राथमिकता पाउने प्रतिबद्धता जनाए ।
प्रचण्डले कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास गर्न आवश्यक रहेको पनि बताए । उनले तीव्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावार, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायत प्रचुर सम्भावना बोकेका क्षेत्रहरूमा स्वदेशी तथा वैदेशिक लगानी बिस्तार गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले विदेशी लगानीमैत्री वातावरण बनाउन केही कठोर कदम चाल्नुपर्ने आवश्यकता महसुस गरेको उल्लेख गरे ।
प्रचण्डले सरकार आगामी आर्थिक वर्षको बजेटका लागि नीति, कार्यक्रमको अन्तिम तयारीमा रहेको बताए । उनले आगामी वर्षको बजेटमार्फत उत्पादन र रोजगारी वृद्धि गर्ने बताए । उनले तत्काल देखा परेका संकटलाई समाधानका लागि चाल्नुपर्ने कदम, मध्यकालीन, र दीर्घकालीन रूपमा चाल्नुपर्ने नीति, कार्य योजनाका बारेमा निजी क्षेत्रसँग छलफल भइरहेको बताए ।
२०८० वैशाख २४ गते आइतवार १९:२७ बजे प्रकाशित