उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, अन्तिम परिणाम मंगलबारसम्म आइसक्ने

काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि बारा २, चितवन २ र तनहुँ १ मा आइतबार शान्तिपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न भएको छ।
निर्वाचन आयोगले तीन वटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान सम्पन्न भएको जनाएको छ।
आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको छ। यद्यपि मतदानको विवरण भने आयोगको सूचना प्रणालीमा प्रविष्टि हुनेक्रममा रहेको आयोगले जनाएको छ।
स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको तयारी समेत गरिसकेका छन्।
आयोगका अनुसार बारा २ मा शिक्षा तालिम केन्द्र, कलैया, चितवन २ मा उद्योग वाणिज्य संघको हल, भरतपुर र तनहुँ १ मा जिल्ला समन्वय समिति परिसर, दमौलीमा मतपेटिका संकलन भएपछि मतगणना गर्ने तयारी छ।
बारामा साँझ ८ बजेसम्म मतपेटिका संकलन भइसक्ने अनुमान छ भने चितवनमा १० र तनहुँमा राति ११ बजेभित्र मतपेटिका संकलन भइसक्ने अनुमान छ।
२०८० वैशाख १० गते आइतवार १९:३४ बजे प्रकाशित