"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

मौलिकतालाई जोगाउन महानगरले ध्यान दिनुपर्छ : मन्त्री चौधरी

काठमाडौ । सहरी विकासमन्त्री मेटमणि चौधरीले विकासको काम गर्दा आधुनिकतालाई ध्यानमा राखी मौलिकतालाई जोगाउनु काठमाडौँ महानगरपालिकाको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताउनुभएको छ ।

कामपाको २८औँ स्थापना दिवस मनाउने क्रममा आज मन्त्री चौधरीले काठमाडौँ मौलिकता र ऐतिहासिक धर्म–संस्कृतिले धनी रहेकाले त्यसको संरक्षण गर्नु महानगरको पहिलो कर्तव्य रहनेमा जोड दिनुभयो ।

उपत्यकामा लामो समयदेखि चुनौती बनेको फोहर र ढल व्यवस्थापन समस्याको दीर्घ समाधान गर्नुपर्ने भन्दै मन्त्री चौधरीले त्यसका लागि मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कामपाका प्रमुख बालेन्द्र साहले सङ्घ सरकार र अन्य स्थानीय तहको सहकार्यमा नागरिकले चाहना गरेअनुसारको काठमाडौँ बनाउनेमा आफ्नो निरन्तर प्रयास रहने धारणा राख्नुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाको समग्र विकासका लागि काठमाडौँ र ललितपुर महानगर एकापसमा सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य सोविता गौतमले नागरिकको सफा र सुन्दर काठमाडौँमा बस्ने सपना साकार पार्नका लागि सङ्घ र स्थानीय तहको सहकार्य आवश्यक रहेको औँल्याउनुभयो ।

कामपाले आफ्नो २८औँ वार्षिकोत्सव समारोह सप्ताहव्यापी कार्यक्रम गरी मनाएको हो । सोअन्तर्गत एकैदिन ८९ वटा सामुदायिक विद्यालयको सरसफाइ, नदी, विश्व सम्पदा क्षेत्र, खुला स्थानको सरसफाइ, चित्रकला÷ निबन्ध र वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रम गरिएको थियो ।

विसं २०५२ मङ्सिर २९ गते तत्कालीन काठमाडौँ नगरलाई महानगर घोषण गरेपछि हरेक वर्ष मङ्सिर २९ लाई महानगर दिवसका रूपमा मनाउने गरिएको हो । विसं १९७६ पुस २ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ सङ्सिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको हो ।

२०७९ मंसिर २९ गते बिहीवार १९:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु