समयमै मेलम्ची खानेपानी ल्याउन सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

काठमाडौँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौँ उपत्यकामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले तोकिएको समयभित्रै काठमाडौँ उपत्यकावासीलाई खानेपानी उपलब्ध गराउने गरी मन्त्रालयले कामलाई तीव्रता दिएको बताउनुभएको हो । “वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै बाढी, पहिरोका कारण क्षति पुगेको मेलम्ची खानेपानी आयोजना चाँडो सम्पन्न गर्ने बताइसक्नुभएको छ, मेलम्ची खानेपानीको व्यवस्थापनमा ढिलाइ हुँदैन”, उहाँले भन्नुभयो ।
मन्त्री चौधरीले खानेपानी महसुल निर्धारण आयोग केही दिनभित्रै गठन गर्ने बताउनुभयो । उहाँले सो आयोगअन्तर्गत रहेर सरकारले आमनागरिकलाई अझै सर्वसुलभ ढङ्गले खानेपानी व्यवस्था गर्न लागेको उल्लेख गर्नुभयो । मन्त्री चौधरीले ‘एक घर, एक धारा’ कार्यक्रम देशभर विस्तार गर्न सरकार लाग्ने स्पष्ट पार्नुभयो ।
२०७८ फागुन १५ गते आइतवार २०:३५ बजे प्रकाशित