"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

उपभोक्तालाई यसरी दिन सकिन्छ स्वस्थकर दूध

कृषि प्रधान मुलुकको आर्थिक विकासमा दुग्धजन्य उपयोगको महत्त्वपूर्ण योगदान रहेको छ । विगत केही वर्षमा यस क्षेत्रमा सराहनीय विकास भएको छ । विश्वव्यापीकरण तथा दुग्ध व्यापारीकरणमा उदारीकरणको नीतिका कारण धेरै निजी क्षेत्रले दुग्ध उत्पादन, बिक्रीवितरण एवं प्रशोधनका क्षेत्रमा अग्रसरता देखाएका छन् ।

स्वच्छ दूधको उपार्जनका आधारमा यसको माग निरन्तर बढिरहेको छ । तर प्रतिस्पर्धाको युगमा हामी तब मात्र अघि बढ्न सक्छौँ जब उपभोक्तालाई सर्वोत्तम स्वस्थ र स्वादिलो दूध तथा दुग्धजन्य उत्पादन उपलब्ध गराउन सक्छौँ । स्वच्छ दूधबाट नै गुणस्तरीय उत्पादन तयार पार्न सकिन्छ ।

अतः दूधको गुणस्तर कायम राख्न कठोर खालका अनुगमन प्रणाली आवश्यक हुन्छ । दूध एउटा प्राकृतिक एवं सन्तुलित भोज्य पदार्थ मानिन्छ । यसले मानव शरीरको वृद्धि विकासका लागि लगभग सबै खाले पोषक तत्त्व उपलब्ध गराउँछ । स्वच्छ दूध स्वास्थ्यका दृष्टिले राम्रो गन्ध, स्वाद तथा पौष्टिक तत्त्व युक्त हुन्छ ।

यसमा जीवाणुको सङ्ख्या कमभन्दा कम होस् । एन्टिबायोटिकको अवशेष नभएको होस । लामो समयसम्म सञ्चय गरी राख्न सकियोस् । दूध चाँडै बिग्रने खाद्य पदार्थ हो । यसमा उच्च पोषक तत्त्व रहन्छ ।

तर आर्द्रताले सूक्ष्म जीवाणु वृद्धि गर्ने माध्यम भएकाले यो धेरै खाले रोगको स्रोत पनि बन्न पुग्छ । स्वास्थ पशुको थुन र फाँचोबाट निस्कने दूधमा प्रति मिलिलिटर जीवाणु सङ्ख्या ५ सयदेखि २ हजार हुने गर्छ ।

यो सङ्ख्या दुध उत्पादन, प्रशोधनका विभिन्न चरणमा दूषित हुँदै कैयौँ लाख हुन पुग्छन् । त्यसैले दूध उत्पादनदेखि उपभोगसम्मका प्रत्येक शृङ्खलामा दूधको गुणस्तरमा ध्यान दिन जरुरी हुन्छ ।

यसका लागि राम्रो व्यवस्थापन तथा सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ । दूध उत्पादनको स्तरमा कुशल प्रबन्धको माध्यमबाट रोग फैलाउने जीवाणु, गोबर, दूषित पानी, वायु एवं वातावरण तथा दूध दुहुने, भण्डार गर्ने फोहोर भाँडाकुँडा तथा उपकरणहरूबाट सुरक्षित राख्न सकिन्छ ।

साथै ढुवानी तथा प्रशोधनमा सावधानी अपनाई दूधको गुणस्तर राम्रो राख्न सकिन्छ । स्वच्छ दूध उत्पादनको आवश्यकता निम्न कारणका लागि पर्छ । दूध व्यवसायबाट ज्यादा लाभ एवं आर्थिक समृद्धिको लागि दूध एवं दूधजन्य उत्पादनको गुणस्तर स्थिर राख्न तथा तिनीहरूको सञ्चय क्षमता वृद्धि गर्न मानिसबाट पशुमा तथा पशुबाट मानिसमा रोग सर्न तथा सङ्क्रमण हुनबाट बचाउन विश्व व्यापार सङ्गठनको गुणस्तर मापदण्ड पालना गर्न आन्तरिक एवं अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रिन विश्व व्यापार सङ्गठनद्वारा निर्धारित प्रावधानको सही तरिकाले पालना गर्नुपर्छ ।

स्वच्छ दूध उत्पादन गर्न निम्न कुरा अवलम्बन गरिनु आवश्यक हुन्छ:

पशु बाँध्ने ठाउँ प्रायः फोहोर हुँदा तीनको थुन फाँचोमा, छालामा गोबर, माटो र विभिन्न किसिमका श्राव, जिउका रौँ, घाँस, दानाका अंश टाँसिने गर्छ । यसले दूध दूषित तथा सङ्क्रमित हुने गर्छ ।

अतः पशुका लागि स्वच्छ गोठको व्यवस्था हुनुपर्छ । गोठ अग्लो ठाउँमा पानी नजम्ने, झिँगा, लामखुट्टेबाट मुक्त, मानव बस्तीबाट टाढा हुनुपर्छ । गोठको भुइँ केही भिरालो हुनुपर्छ । यसले गोबर, पिसाब सजिलै निष्कासन हुन सकोस् । गोठमा दूध दुहनुभन्दा २, ३ घण्टा पहिले किटनाशक औषधि छर्नुपर्छ । यसले गर्दा दुर्गन्धबाट दूधलाई बचाउन सक्छ । गोठलाई सकेसम्म ओभनो राख्नुपर्छ ।

बाँकी रहेको घाँस, पराल, दाना, गोबर, पिसाब फालेर नियमित सफा गर्नुपर्छ । दानापानीका भाँडा नियमित सफा गर्नुपर्छ । प्रत्येक १५ दिनमा थुनेलो रोगका लागि दूधको संरचना तथा पशुको जाँच क्यालिफोर्निया मेस्टाइटिस टेस्ट वा मैसट्रिप प्रयोग गर्नुपर्छ ।

समयसमयमा पशुलाई टीभी, ब्रुसेला, खोरेँत जस्ता सङ्क्रामक रोगको परीक्षण गराउनुपर्छ । पशुलाई नियमित सफाइ गर्नुपर्छ । बिरामी पशुलाई निरोगी पशुभन्दा बेग्लै राख्नुपर्छ । शरीरको पछाडिको भाग, पुच्छर तथा फाँचो वरिपरिका रौँ समयसमयमा काटिदिनु पर्छ । दाना तथा आहारा एक्कासि बदलिदिनु हुँदैन । पशुलाई खनिज लवण युक्त सन्तुलित दाना आहार दिनुपर्छ । काउली, सलगम, प्याज, लसुन जस्ता तरकारी खान दिनु हुँदैन । यस्ता खानाले दूधमा दुर्गन्ध उत्पन्न गराउँछ । बासी, ढुसी परेका, कीटनाशक सङ्क्रमित दाना दिनु हुँदैन ।

गुणस्तरीय दूध उत्पादन गर्न दूध दुहुने मानिसको भूमिका पनि त्यति नै महत्त्वपूर्ण हुन्छ । त्यसैले दुहुने मानिस हैजा, टाइफाइड, टीबी, रुघाखोकी, हातमा घाउ, चोट नभएको हुनुपर्छ । यसबाट हुने सङ्क्रमण रोक्न सकियोस् ।

दुहुने मानिसको लुगा सफा, कपाल, दाह्री नै नङ राम्रोसँग काटेको हुनुपर्छ । दूध दुहुनुभन्दा पहिले तथा दही सकेपछि राम्रोसित धुनुपर्छ । गाई दुहुँदा पछिल्लो खुट्टा डोरीले बाँध्ने चलन छ । यसरी बाँध्ने डोरी गोबर हिलो, दूधको सिर्का लाग्नाले फोहर हुने गर्छ । त्यसैले डोरीलाई बेलाबेलामा साबुन पानीले धोएर सफा गर्नुपर्छ ।

दुहुनुभन्दा पहिलो थुन फाँचोलाई सफा पानीले धोएर सुकाउनुपर्छ । दूध दुहुँदा थुनलाई मुठ्ठी भरी पारी ५–७ मिनेटमा दूध दही सक्नुपर्छ । दुहुँदा पहिलो थुनबाट निस्कने सिर्का छुट्टै कप गिलासमा दोहेर टाढा फाल्नुपर्छ ।

दूध सुख्खा हातले दुहुनु पर्छ । हातमा तेल, नौनी वा दूध लगाएर दुहुनु हुँदैन । यसवाट सङ्क्रमणको डर हुन्छ । । दूध दही सकेपछि फाँचो लार्क सफा कपडाले पुछेर सफा गर एन्टिसेप्टिक लगाउनु पर्छ । दूध दुहुने वित्तिकै पशुलाई बस्न दिनु हुँदैन अन्यथा दूध दुहुँदा खुलेको थुनको मुखबाट सङ्क्रमण हुने जोखिम हुन्छ ।

एन्टिबायोटिक प्रयोग गरी उपचार गरिएको पशुको दूध अरू पशुको दूधमा मिसाउनु हुँदैन । थुनेलोले ग्रस्त पशु सबैभन्दा अन्तिममा दुहुन पर्छ । दूधलाई छोटो समयमा नै सङ्कलन केन्द्रमा लानुपर्छ । दूधलाई जति सक्यो चाँडै चिसो पार्नुपर्छ । चिस्याउन केन्द्रमा दूध ओसार्दा त्यसमा अन्य सामग्री ओसार्नु हुँदैन ।

दूधको उत्पादन राम्रोसँग गर्नाले यसको प्रारम्भिक गुणस्तर राम्रो हुन्छ । साथै यस्तो दूधबाट प्रशोधन गरी तयार पारिने दूधजन्य उत्पादन पनि गुणस्तरीय, स्वच्छ, सफा अनि स्वस्थकर हुन्छ । यस्तो उत्पादनले बजारमा बढी मूल्य पाउँछ । जसले गर्दा दुग्ध उत्पादनदेखि प्रशोधन तथा बिक्री वितरण गर्ने व्यवसायीले राम्रै नाफा कमाउन सक्छन् । उपभोक्तले पनि स्वच्छ, शुद्ध दूध तथा दुग्धजन्य उत्पादन उपभोग गर्न पाउने सुनिश्चिता हुन्छ ।

२०७८ जेठ १९ गते बुधवार ११:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु