"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विकास आयोजनालाई फेरि महामारीको खड्गो

काठमाडौं, खोटाङको हलेसीमा निर्माणाधीन खानेपानी आयोजनाको वाटर लिफ्टिङ पम्प ५ साताअघि नै नेपाल आइपुग्नुपर्ने हो । तर, भारतमा फेरि कोरोनाको महामारी फैलिएपछि अर्डर गरेको लामो समयसम्म पनि मेसिन आएको छैन । ठेकदार कम्पनी महादेव खिम्ति सेवाका अनुसार अझै २–३ हप्ता सामान आइपुग्न समय लाग्ने अवस्था छ । यसले गर्दा आयोजनाको काम प्रभावित भएको कम्पनी बताउँछ ।

हलेसीको खानेपानी आयोजना मात्रै हैन, भारत र चीनबाट आउने निर्माण सामग्री, उपकरण, जनशक्ति, प्रविधि र प्राविधिकमा निर्भर रहेका आयोजनाहरुमा कोरोना भाइरसको दोस्रो चरणको महामारीको प्रभाव देखिन थालेको छ । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि विभिन्न विकास आयोजनाहरुमा समस्या देखिन थालेको हो ।

चोभारमा बनिरहेको सुख्खा बन्दरगाहलाई पनि महामरीको दोस्रो लहरले पिरोलेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल भारतबाट बन्दरगाहको लागि ल्याउनुपर्ने विशिष्ट उपकरण र निर्माण समग्रीको आपूर्ति ढिला भएको बताउँछन् ।

‘केही विशेष काम गर्न भारतबाटै दक्ष प्राविधिक आउनुपर्ने छ,’ उनले भने, ‘तर महामारीको दोस्रो लहरले भारतबाट प्राविधिक जनशक्ति ल्याउन पनि समस्या गरेको छ ।’ विशेषगरी विदेशी कामदार कार्यरत, विदेशी प्रविधि आवश्यक र विदेशी ठेकदारले जिम्मा लिएका आयोजनाहरुमा बढी प्रभाव देखिन थालेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहका अनुसार करिब ५ लाख भारतीय मजदुर निर्माणसम्बद्ध श्रम बजारमा कार्यरत छन् । तर, कतिपय आयोजनामा भारतबाट बोलाइएका दक्ष जनशक्ति नआएर समस्या देखिन थालेको उनको गुनासो छ ।

विमानस्थल र सडक आयोजनाहरुमा मात्रै नभएर ऊर्जा, खानेपानी र सिँचाइ र सञ्चारका आयोजनामा पनि भारतीय कम्पनी र तिनका ज्वाइन्ट भेन्चर कम्पनीहरु संलग्न छन् । विभिन्न विकास आयोजनामा कार्यरत भारतीय ठेकदार, व्यवस्थापक र कामदार भारतमै रोकिएका छन् । चिनियाँ कम्पनीले जिम्मा लिएका परियोजनामा गत वर्षदेखि नै यो समस्या कायम छ ।

‘अनुभवी र दक्ष जनशक्ति नभएर निर्माणाधीन पुलहरु खस्न थालेका छन्,’ अध्यक्ष सिंह भन्छन्, ‘भारतबाट आउनुपर्ने विशिष्ट खालका यन्त्र उकरणको आपूर्ति पनि ढिला हुन थालेको छ ।’ पुलका लठ्ठाहरु तान्न भारतबाटै श्रमिक बोलाइन्छ ।

पुल मात्रै हैन, जलविद्युत आयोजनाहरुसहित सुरुङ र बाँध बनाउनेदेखि शहर बजारमा घर बनाउने परियोजनासम्म भारतीय कामदारमा निर्भर छ । राजमार्गको विस्तार, प्रसारणलाइन तथा सबस्टेसन बनाउने आयोजना, सिँचाइ आयोजनाहरुमा भारतीय कामदार र प्रविधिको बर्चस्व छ ।
मुख्यरुपमा प्राविधिक र व्यवस्थाकीय जिम्मा लिएका कामदारहरु नै भारतमा बस्नुपरे पछि आयोजनाहरुले गति लिन नसक्ने अवस्था सिर्जाना भएको अध्यक्ष सिंह बताउँछन् । विदामा घर भएका श्रमिकहरु भारत छाडेर फर्किन सकेका छैनन् ।

यही बेला भारतबाट मालसमान आपूर्ति गर्न भएको समस्या पनि चुनौती थपेको छ । भारतमा उच्च स्वास्थ्य सतर्कता अपनाइएकाले उद्योगहरुमा उत्पादन प्रभावित भएको छ । यसले गर्दा पनि कतिपय मेसिन, उपकरण आयातमा पनि समस्या परेको महासंघले जनाएको छ ।

आयोजनाको निर्माणमा मात्रै समस्या छैन, कतिपय परामर्शदाता कम्पनीका प्रतिनिधिमा नै कोरोना देखिएकाले पनि आयोजनाहरु फेरि समस्यमातर्फ धकेलिएका छन् । यसले कतिपय आयोजनामा गर्नुपर्ने परामर्शका कामहरू पनि अहिले अलपत्र छन् ।

नेपाल विद्युत प्रधिकरणका मस्र्याङदी करिडोरमा भारतीय परामर्शदाता कम्पनीका विज्ञ अहिले आइसोलेसनमा छन् । विद्युत प्रधिकरणको आयोजनना व्यवस्थापन निर्देशनालयका प्रमुख रामजी भण्डारी विभिन्न प्रसारणलाइन आयोजनाहरुमा कार्यरत भारतीय परामर्शदाता कम्पनीको काम महामारीले प्रभावित गरेको बताउँछन् । ‘हामीले कुनै ड्रइङ गराउन चाह्यौं भने तुरुन्तै काम हुने अवस्था छैन,’ उनले भने, ‘कतिपय विज्ञ त अहिले कोरोना लागेर आइसोलेसनमा छन् ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारी पनि कोरोनाको दोस्रो लहरले निर्माणाधीन परियोजनाहरू प्रभावित हुने जोखिम देखिएको बताउँछन् । ‘महामारीमा जीवनको सवाल प्रमुख हुन्छ, त्यस्तो अवस्थामा श्रमिकलाई आश्वस्त पार्न सकिएन भने निर्माणस्थलमा काम गराइरहन गाह्रो हुन्छ’ उनी भन्छन्, ‘विमानस्थल आयोजनाहरू त झन् विदेशी प्राविधिकमा निर्भर रहेकाले धेरै अप्ठेरो पर्न सक्छ ।’

अहिले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माणाधीन छ । चिनियाँ कम्पनीले काम गरिरहेका यी आयोजनाहरू महामारीकै कारण प्रभावित हुँदै आएका छन् ।

विदेशी कम्पनी कार्यरत मात्रै हैन, अहिले स्वदेशी निर्माण कम्पनीले काम गरिरहेका आयोजनमा पनि कामको गति सुस्त भएको छ । श्रमिकहरु घर फर्किन खोज्ने र घर गएकाहरु आयोजनामा फर्किन नचाहाने शैली दोहोरिन थालेको निर्माण व्यवसायीहरु बताउँछन् ।

छैन प्रोटोकल

यही बेला विभिन्न जिल्ला तथा स्थानीय तहका महामारी रोक्न निषेधाज्ञा लगाउन सुरु भएको छ । यसो भएमा निर्माणका कामहरू पनि रोकिने पक्कापक्की छ । सरकारले सार्वजनिक तथा निजी तवरका निर्माणस्थलका लागि छुट्टै स्वास्थ्य (मापदण्ड) प्रोटोकल ल्याएको छैन । कतिपय ठेकदारले भारतबाट फाटफुट रुपमा आएका श्रमिकलाई सोझै निर्माणस्थलमा लगेर काम लगाइरहेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले लामो समयदेखि धेरै व्यक्ति जम्मा हुने ठाउँ भएकोले निर्माणस्थलका लागि छुट्टै स्वास्थ्य प्रोटोकल माग गरिरहे पनि सरकारले अहिलेसम्म सुनुवाइ गरेको छैन । निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह निर्माणस्थलका लागि छुट्टै स्वास्थ्य प्रोटोकल नआए काम जारी राख्न सहज नहुने बताउँछन् । यसैकारण कतिपय आयोजनाको कामको गति घटेको र कतिपय आयोजनामा स्थानीय स्तरमा सहयोग नभएकाले काम रोकिन थालेको उनले बताए ।

‘महामारीमा काम गर्न स्वास्थ्य मापदण्ड चाहिने हो,’ अध्यक्ष सिंह भन्छन्, ‘त्यसो भएमा समयकै काम सक्न र स्थानीय स्तरमा महामारीको जोखिम घटाउन पनि सहयोग पुग्थ्यो ।’
कोरोनाको दोस्रो लहर चलेपछि निर्माण आयोजनाहरूले प्रोटोकल माग गरिरहेका छन् । ठेकदारले महामारीलाई नै बहाना बनाएर काम रोक्न सक्ने भएकाले संघीय सरकारले आयोजनाहरुका लागि एकीकृत प्रोटोकल दिनुपर्ने उनीहरुको भनाइ छ ।

अहिले धेरैजसो निर्माणस्थलमा कुनै पनि खालका स्वास्थ्य मापदण्ड पालना गरिएको छैन । यो अवस्थामा कोरोना देखिए निर्माणस्थल नै बन्द गर्नुपर्ने जोखिम छ ।

गत वर्ष एक्कासी लकडाउन हुँदा निर्माणस्थलहरू बन्द भएर श्रमिकले भोकभोकै पैदल हिँड्नुपर्नेलगायत समस्या आएको थियो । अकल्पनीय दुःख खेपेर घर पुगेका उनीहरूलाई पछि काममा फर्काउन पनि सकस परेको थियो । उड्डयन प्राधिरकणका निर्देशक अधिकारी आयोजना आयोजनाहरुमा पनि समयमै स्वास्थ्य मापदण्ड कार्यान्वयन नगरिए अप्ठ्यारो पर्ने बताउँछन् । ‘महामारीमा श्रमिकलाई विश्वस्त बनाएर काम गर्न सहज अवस्था हुँदैन,’ उनी भन्छन्, ‘त्यसका लागि वातावरण बनाउन पर्छ ।’

सिंचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारी महाकाली, रानी–जमरा सिंचाइ, बबई, भेरी–बबई डाइभर्सन, सिक्टा सिंचाइ, सुनकोशी–मरिन डाइभर्सनसहित थुप्रै परियोजनामा सन्तोषजनक गतिमा काम भइरहेकाले स्थिति बिग्रन दिन नहुने बताउँछन् । ‘विशेषतः श्रमिक बस्ने क्याम्पहरूमा प्रोटोकल अत्यावश्यक छ,’ उनी भन्छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारले निर्देशन दिएमा प्रोटोकल लागू गर्ने बताउँछन् । ‘पहिले बनेको मापदण्डलाई लागू गर्न सकिन्छ,’ उनी भन्छन्, ‘सरकारले के निर्णय गर्छ भनेर हेरिरहेका छौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता तथा सहसचिव दीपक भट्टराई विगतमा लागू गरेको मापदण्डलाई आधार बनाएर निर्माणस्थलमा काम गरे समस्या नपर्ने बताउँछन् ।

‘विगतमा जस्तो निर्माणस्थल नै बन्द गरेर हिंड्ने, काम रोक्ने अवस्था आउन नदिन सबै सचेत हुनपर्छ,’ उनी भन्छन् । ‘गत वर्षको लकडाउनमा पनि सुचारु राखेको भन्दै उनले महामारीको दोस्रो लहरमा पनि त्यस्तो अभ्यासलाई दोहोर्‍याउनुपर्ने सहसचिव बताए ।

२०७८ वैशाख १४ गते मंगलवार १४:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु