गाउँपालिकाले विपन्न परिवारलाई अनुदानमा कुखुराको चल्ला वितरण
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई अनुदानमा स्थानीय कुखुराको चल्ला वितरण गर्ने भएको छ । त्यस क्षेत्रका पर्यटकीय गन्तव्यमा आउने पर्यटकलाई नयाँ स्वाद दिलाउने उद्देश्यले स्थानीयलाई चल्ला वितरण गर्न लागिएको हो ।
गाउँपालिका अध्यक्ष गीता गुरुङले आइतबार एक साताको सूचना प्रकाशित गरी विपन्न परिवारलाई सम्पर्कमा आउन आह्वान गरिएको जानकारी दिनुभयो । उनीहरुलाई स्थानीय जातको कुखुराको चल्ला खरिदमा ७५ प्रतिशत अनुदान दिइनेछ ।
स्थानीयसँग भएको खोर र पाल्नसक्ने क्षमताका आधारमा कम्तीमा २० वटा चल्ला दिइने र क्षमता भएमा सङ्ख्या थप गर्न सकिने उहाँको भनाइ छ । के–कति निवेदन आउँछ त्यसका आधारमा वितरण थालिनेछ । उहाँले ३०० परिवारजतिलाई चल्ला वितरण गर्ने लक्ष्य राखिएको बताउनुभयो । यसले स्थानीयको जीवनस्तर उकास्न र पर्यटकलाई नयाँ स्वाद दिन सकिने उहाँको भनाइ छ ।
२०७७ जेठ २६ गते सोमवार १६:५१ बजे प्रकाशित