बङ्गालको खाडीमा उत्पन्न चक्रवातको नेपालमा पनि प्रभाव, सतर्क रहन आग्रह
काठमाडौं । बङ्ग्लादेश र उत्तर-पूर्वी भारतीय राज्यहरूलाई ठूलो प्रभाव पार्ने ठानिएको एउटा शक्तिशाली चक्रवातले नेपालमा पनि अप्रत्यक्ष मौसमी प्रभाव पर्ने मौसमविद्हरूले बताएका छन्।
उनीहरूका अनुसार बङ्गालको खाडीबाट उत्पन्न भएको अम्पुन नामक शक्तिशाली चक्रवातले खासगरि नेपालको पूर्वी तथा मध्य भागलाई बढी प्रभावित बनाउनेछ।
यसअघि पनि हिन्द महासागर तथा त्यस क्षेत्रमा देखापर्ने चक्रवातका कारण नेपालमा पनि मौसमी प्रभाव पर्ने गरेका थिए।
कतिपय अवस्थामा त्यस्ता मौसमी प्रभावका कारण प्राकृतिक विपद् आउने गर्छन्।
गत वर्ष पनि भारतको ओडिशामा धनजनको क्षति पुर्याएको फणि नामको चक्रवातले नेपालको सगरमाथा क्षेत्रसम्म पनि प्रभाव पारेको थियो।
अहिले दक्षिण बङ्गालको खाडीमा विकसित भइरहेको अम्पुन नामक चक्रवातले नेपालमा पार्नसक्ने प्रभावबारे बीबीसीले केही मौसमविद्हरूसँग कुराकानी गरेको छ।
उनीहरूका अनुसार उक्त चक्रवातका कारण नेपालमा देखा पर्नसक्ने तीनवटा मुख्य प्रभावहरू यस्ता छन् :
१. मध्यम तथा ठूलो वर्षा
अम्पुन चक्रवातका कारण नेपालको पूर्वी र मध्यभागमा मध्यमदेखि ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताए।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि आगामी तीनदेखि चार दिनसम्म उक्त चक्रवातका कारण नेपालको मौसम प्रभावित हुने जनाएको छ।
महाशाखाकी मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘यो चक्रवातको प्रभाव नेपालको पूर्वी र मध्य भू-भागमा पर्ने देखिन्छ। त्यस क्षेत्रमा पूर्ण रूपमा बदली भएर वर्षा र चट्ट्याङको सम्भावना रहन्छ।’
जल तथा मौसम विज्ञान विभागका पूर्व उप-महानिर्देशक राजेन्द्र श्रेष्ठले पनि नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा हुने देखिएको बताए। उनले भने, ‘यसको डायमिटर (व्यास) धेरै भएकाले नेपालमा पनि बादल बढ्ने र पानी पर्ने हुन्छ।’
उनले चट्याङ् पर्ने सम्भावना पनि रहेको बताए। नेपालमा अहिले स्थानीय वायु पनि सक्रिय रहेको र गर्मी मौसम भएकाले मेघ गर्जनसहितको वर्षा हुने उनको अनुमान छ।
उच्च पहाडी क्षेत्रमा भने हिमपात हुने पनि मौसमविद्हरूले बताएका छन्।
२. खहरे उर्लने सम्भावना
चक्रवातको प्रभावले हुने वर्षा र हिमपातका कारण पूर्वी र मध्य नेपालका सानाखाले खोलाहरू र खहरेहरूमा पानीको मात्रा बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका जलविद्ले बताएका छन्।
उनीहरूका अनुसार ठूला नदीहरूमा भने जलस्तर बढे पनि खतराको तह पार गर्ने सम्भावना कम रहेको प्रक्षेपण गरिएको छ।
विभागका सूचना अधिकारीसमेत रहेका जलविद् विक्रम श्रेष्ठ जुवाले भने, ‘हाम्रा प्रणालीहरूले ठूला नदीमा चेतावनीको तह नै पार गर्ने देखाएका छैनन्। हाम्रो प्रणालीमा साना खोलाहरूको यकिन अवस्था देखिँदैन। हामीले पूर्वी भेगमा साना खोला र खहरेहरूमा पानी बढ्ने अनुमान गरेका छौँ। साना खोलाहरूमा यति नै पानी बढ्छ भन्नसक्ने अवस्था चाहिँ छैन।’
विभागका पूर्व उप-महानिर्देशक राजेन्द्र श्रेष्ठले पनि हिमपात र वर्षा हुने भएकाले त्यसले साना खोलादेखि ठूला नदीहरूमा समेत पानीको मात्रा बढाउने सम्भावना रहने बताए।
३. हावाहुरी चल्ने
चक्रवातका कारण नेपालको पूर्वी र मध्य क्षेत्रमा लगातार सिमसिम पानी पर्दै हावाहुरी लाग्ने सम्भावना पनि रहेको मौसमविद्हरूले बताए।
त्यसले गर्दा कतिपय पूर्वाधारहरूमा क्षति पुर्याउनुका साथै रूखहरू लडाउनसक्ने उनीहरूको भनाइ छ।
नेपालसम्म आइपुग्दा हावाको गति निकै कमजोर भए पनि त्यसले विद्युत तथा टेलिफोनका पोलहरू लडाउनसक्ने पूर्व उप-महानिर्देशक श्रेष्ठले बताए। उनले भने, ‘नेपालमा समुद्र नभएकाले धेरै ठूलो हावाहुरी चल्दैन तर मध्यम खालको हावाहुरीले पनि कुनै स्थानमा पोलहरू लडाउन सक्ने भएकाले हामी तयार भएर चाहिँ बस्नुपर्छ।’
लकडाउनका कारण हवाई उडानहरू बन्द भएकाले अहिले त्यसतर्फ भन्दा पनि पोलहरू तथा कतिपय स्थानका छानोहरू उडाउन सक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उनले बताए।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् नगरकोटीले मङ्गलवार र बुधवार हावाहुरीको सम्भावना कम देखिएको तर बिहीवार भने हावाहुरी चल्नसक्ने जानकारी दिइन्।
सुझाव
मौसम तथा जलविद्हरूले सर्वसाधारणलाई विभिन्न मौसमी गतिविधिबाट उत्पन्न हुने अवस्थासँग सतर्क रहन आग्रह पनि गरेका छन्।
उनीहरूले विशेषगरी पूर्वी नेपालका साना खोलाहरूमा बाढी आउने भएकाले त्यस्ता खोलाहरू वरपर बस्नेहरू सतर्क रहनुपर्ने बताए।
त्यस्तै हिमाली क्षेत्रमा रहेका बासिन्दाहरूले हिमपात र सानाखाले हिमपहिरोप्रति पनि सचेत हुनुपर्ने उनीहरूको सुझाव छ।
मौसमविद्हरूले चट्याङ् र हावाहुरीबाट बच्ने उपायहरू अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरेका छन्।
अम्पुन चक्रवात
भारत र बाङ्ग्लादेशले दक्षिण बङ्गालको खाडीमा विकसित भइरहेको उक्त चक्रवातबाट प्रभावित हुने करिब २० लाख मानिसहरूको उद्धार गर्ने तयारी गरिरहेका छन्।
मौसमविद्हरूले उक्त चक्रवातका क्रममा बङ्गालको खाडीमा हावाको गति २२० देखि २४० किलोमिटर प्रतिघण्टासम्म पुग्नसक्ने बताएका छन्।
उक्त चक्रवातले बुधवार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ।
बङ्गालको खाडीमा आउन लागेको यो सन् १९९९ यताकै पहिलो सबैभन्दा शक्तिहाली चक्रवात हुनेछ।
यो चक्रवात भारतको पश्चिम बङ्गालहुँदै पूर्वोत्तरतर्फ लाग्ने बताइएको छ।
२०७७ जेठ ७ गते बुधवार ११:२६ बजे प्रकाशित





















