जानकारी : ‘लकडाउन’मा बालबालिकासँग यसरी बढाऔं प्रगाढ सम्बन्ध

काठमाडौं । कोरोना सङ्क्रमण (कोभिड–१९) को खतराका कारण सरकारले गरेको लकडाउनको समयमा बालबालिकालाई सुरक्षित तवरले घरमा राख्नुपर्ने विज्ञहरूले बताएका छन् ।
पूर्वबाल्यावस्थाको विकास सम्बन्धमा विद्यावारिधि गरेका प्रा.डा. निर्मला उप्रेती भन्छिन्, ‘यो मौका भनेको आमाबुवा र बालबालिकाबीचको सम्बन्ध अझ बढी प्रगाढ बनाउने समय हो ।’ बालबालिकालाई दिनभरि मोबाइल, ल्यापटप दिनुको साटो उनीहरूलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने कुरा सिकाउनुपर्छ । समय बिताउन मोबाइल नै चाहिन्छ भन्ने धारणा गलत भएको उनी बताउँछिन् ।
आफ्नो घरछेउ सानो कोठामा घर भाडामा बस्ने सानो परिवारको उदाहरण दिँदै प्रा।डा। उप्रेतीले भनिन्, ‘आमा, बुवा र छोरा मात्रको सानो परिवारमा विभिन्न फङ्सन भएको मोबाइल पनि छैन । मैले चित्र कोर्ने किताब र एउटा बाजा दिएको थिएँ । त्यो परिवार त्यसैमा धेरै खुसी भएर दिनभरि रमायो ।’ लकडाउनको समयमा घरका काम सिकाउनुका साथै बारी वा गमलामा फूलहरूको नाम सिकाउन सकिन्छ र कसरी रोप्ने भन्ने पनि ज्ञान दिन सकिने जानकारी उनले बताइन् ।
घरभित्रै कसरी राख्ने?
हरेक अभिभावकले आफ्नो आर्थिक तथा सामाजिक हैसियतअनुसारको व्यवहार गर्दै आएका छन् । आफ्नो पारिवारिक अवस्थाअनुसार बालबालिकाका लागि बाघचाल, गट्टा, लुँडो, चेस, क्यारिम बोर्ड, पजलजस्ता सामान्य घरभित्र खेल खेल्ने वातावरण मिलाउनुपर्ने प्रा।डा। उप्रेतीले बताइन् । यता रघुवंशी पनि इन्टरनेट चलाइसकेपछि बालबालिकालाई सिर्जनशील बनाउन उनीहरूको रुचि र क्षमताअनुसारका चित्र बनाउने, वाद्यवादन, सङ्गीत सुन्ने, गाउनेजस्ता रमाइला क्रियाकलाप पनि घरभित्र गर्न दिनुपर्ने सुझाव दिन्छन् ।
अभिभावकले फुर्सदको समयमा बालबालिकाका साथमा प्रेरणामूलक फिल्म हेर्ने, कथा–उपन्यास सुनाउने आदि गर्नुपर्छ । साथै उमेर अनुसारका विभिन्न क्रियाकलाप गर्न उनीहरूलाई प्रेरित गर्न सकिन्छ ।
२०७६ चैत १४ गते शुक्रवार ०९:११ बजे प्रकाशित