उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि कडा कारवाहीको माग
काठमाडाै । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सम्भावित जोखिम नियन्त्रणका लागि सरकार, राजनीतिक दल, जनता तथा सरोकार भएका एकताबद्ध भएर सामूहिक अभियान चलाइनुपर्नेमा सांसदले जोड दिएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा विपद्का घडीमा सरकार र कुनै पार्टीविशेषका नभनी भाइरसको सम्भावित खतराबाट बच्नका लागि विशेष सतर्कता अपनाउन सरकारलाई आग्रह गर्दै सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले आफूहरुको भूमिकालाई पनि थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गोपीबहादुर अछामीले कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न सरकारको पूर्वतयारी स्वागतयोग्य रहे पनि यतिले मात्रै चुनौतीको सामना गर्न नसकिने भएकाले सरकार, राजनीतिक दल र जनता सबैले एकताबद्ध भएर पहलकदमी लिन जरुरी भएको बताए । सांसद अछामीले सरकार, सदनलगायत सबैले जिम्मेवारीका साथ आआफ्नो स्थानबाट भूमिका बहन गर्नुपर्नेमा पनि जोड दिए।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रकाश पन्थले सरकारले कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि अपनाएको पूर्वतयारी र स्वास्थ्य सतर्कता सकारात्मक छ भन्दै यसलाई थप प्रभावकारी बनाउन सरकार तथा सबै राजनीतिक दल एकताबद्ध भएर लाग्नुपर्ने बताए।
नेकपाकी कोमल वलीले दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि कडा कारवाहीको माग गरिन् । सोही दलका भैरवसुन्दर श्रेष्ठले विदेशबाट फर्काइएका नेपालीलाई स्वदेश प्रवेश गर्दा स्वास्थ्य सुरक्षालगायत विषयमा ध्यान दिन जरुरी रहेको बताए ।
२०७६ चैत ६ गते बिहीवार १७:३६ बजे प्रकाशित