कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो, झण्डै १ लाख १५ हजार संक्रमित

एजेन्सी । उद्गमस्थल रहेको चीनको वुहानमा कोरोना संक्रमितहरू र ज्यान गुमाउनेहरूको संख्या घट्दै गइरहेका बेला विश्वभर कोरोना संक्रमणको विस्तार तीव्र रुपमा हुन थालेको छ। मंगलबार यो समाचार तयार पार्दासम्म विश्वका १ सय ५ देशमा कोरोना भाइरस फैलिएको तथ्याङ्कले देखाएको छ।
यद्यपी, संक्रमितको संख्यामा बढोत्तरी भएपनि उपचार पछि निको भएर घर फर्किनेहरूको संख्या पनि बढिरहेको छ। जसअनुसार, निको भएर घर फर्किनेहरूको संख्या ६४ हजार १ सय १ रहेको छ।
विश्वका विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वल्र्डओमेटर्सडटइन्फोका अनुसार, विश्वभर संक्रमितको संख्या १ लाख १४ हजार ४ सय ५८ रहेको छ, त्यसमध्ये ४ हजार ३२ को मृत्यु भइसकेको छ।
त्यस्तै कोरोना भाइरस देखिएपछि अस्पतालमा उपचाररतहरूको संख्या ४६ हजार ३ सय ३ रहेको छ। अस्पतालमा रहेकाहरूमध्ये १२ प्रतिशत अर्थात् ५ हजार ७ सय ७१ को अवस्था गम्भीर रहेको छ भने ४० हजार ५ सय ५९ को अवस्था सामान्य रहेको छ।
सबैभन्दा बढी संक्रमित हुनेहरूको संख्या चीनमा छ। चीनमा ८० हजार ७ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण छ। यसमध्ये ३ हजार १ सय ३६ को मृत्यु भएको छ भने ५९ हजार ९ सय २४ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। यसैगरी कोरोना भाइरसको संक्रमण भएका १७ हजार ६ सय ९७ जना अस्पतालमा उपचाररत छन्। त्यसमध्ये ४ हजार ७ सय ९४ को अवस्था गम्भीर छ।
चीनपछि बढी प्रभावित युरोपेली मुलुक इटालीमा ९ हजार १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ। संक्रमितमध्ये ४ सय ६३ को मृत्यु भइसकेको छ । संक्रमितमध्ये ७ सय २४ जना डिस्चार्ज भइसकेका छन् भने ७ हजार ९ सय ८५ अस्पतालमा छन्। अस्पतालमा रहेकामध्ये ७ सय ३३ को अवस्था गम्भीर छ।
दक्षिण कोरियामा ७ हजार ५ सय १३ जनामा संक्रमण भएको छ, जसमध्ये ५४ को मृत्यु भएको छ। अहिलेसम्म २ सय ४७ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अस्पतालमा रहेका ७ हजार २ सय १२ मध्ये ३६ जनाको अवस्था गम्भीर रहेको छ। इरानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार १ सय ६१ रहेको छ। संक्रमितमध्ये २ सय ३२ को मृत्यु भएको छ।
त्यस्तै २ हजार ३ सय ९४ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अस्पतालमा ४ हजार ५ सय ३० जना रहेका छन् भने गम्भीर अवस्थामा रहेकाहरूको संख्या भने देखाइएको छैन्।
फ्रान्समा १ हजार ४ सय १२, स्पेनमा १ हजार २ सय ३१ र जर्मनीमा १ हजार २ सय २४ जनामा संक्रमण भएको तथ्यांकले देखाएको छ । फ्रान्स र स्पेनमा ३० र जर्मनीमा २ को मृत्यु भएको छ।
२०७६ फागुन २७ गते मंगलवार १८:३७ बजे प्रकाशित