खाद्य कम्पनीकाे चामल महँगो, मूल्य घटाउँदा पनि बजारकै चामल सस्तो भएपछि खाद्यको चामल बिक्न छाड्यो
गोरखा । सस्तो दरमा अरू नै चामल ढुवानी हुन थालेपछि खाद्य कम्पनीको चामल बिक्री हुन छाडेको छ । कम्पनीले प्रतिकिलो २ रुपैयाँसम्म मूल्य घटाउँदा पनि अन्य चामलभन्दा महँगो पर्ने गरेको छ ।
यस्तो समस्या खास गरी जिल्लाको माछाखोलास्थित डिपोमा देखिन्छ । यहाँ कम्पनीले गत वर्ष ढुवानी गरेकै चामल नबिकेर थन्किएको छ । चामल मौज्दात बसेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यहाँ मूल्य घटाउन निर्देशन दिएको थियो ।
प्रतिकेजी ४७ रुपैयाँ तोकिएको सोना मन्सुली ४५ र ४५ रुपैयाँको जापानिज चामलको मूल्य ४३ रुपैयाँमा झारिएको छ । यसो गर्दा पनि खाद्यको भन्दा बजारकै चामल सस्तो पर्ने स्थानीयको भनाइ छ । खाद्यमा ३० केजीको एक बोरा खरिद गर्दा १ सय ६० रुपैयाँ महँगो पर्ने धनबहादुर गुरुङले बताए । ‘सोना मन्सुली बजारमा ११ सय ९० मा पाइन्छ, खाद्यमा गए त्यही चामल १३ सय ५० पर्ने भयो,’ उनले भने, ‘एक किलोमा १०–१२ रुपैयाँ घटाएको भए केही सहुलियत हुन्थ्यो ।’
मूल्य घटे पनि चामल किन्न स्थानीय नआएपछि अन्योल भएको कम्पनीका गोरखा शाखाका प्रमुख नवीन बस्नेतले बताए ।
२०७६ फागुन २२ गते बिहीवार ११:१९ बजे प्रकाशित